काठमाडौं । नेकपा एकीकृत समाजवादीले शर्तसहित एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निष्कर्ष निकालेको छ ।
एमसीसी सम्झौताबारे धारणा बनाउन शनिबार बसेको स्थायी कमिटी बैठकले शर्तसहित संसदमा टेबल गर्न दिन निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता जगनाथ खतिवडाले एमसीसी जबरजस्त टेबल गर्न नहुने बताए । उनले भने ‘नेकपा एमालेले गरिरहेको संसद गतिरोध हटेर एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ ।’ उनले बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको बताए ।
उनले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न ।’ यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको खतिवडाले जानकारी दिए ।
उनले भने, ‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन ।’
एमसीसीको बारेमा पार्टीको १२औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४औँ बैठकमा एमसीसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो । सोही रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए ।
एमसीसीबारे पाँच दलीय सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यहीबीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो ।











