Logo
Logo

यस्तो छ एमसीसी अनुमोदन प्रक्रिया


2.1k
Shares

काठमाडौं । संसद्मा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्न तीन चरण पूरा गर्नुपर्ने प्रावधान छ । आइतबारको बैठकमा पेस गरेपछि यसले पहिलो चरण पूरा गरेको छ । दोस्रो चरणमा सैद्धान्तिक छलफल, तेस्रो चरणमा दफावार छलफल र अनुमोदन गर्नुपर्ने हुन्छ । ‘सम्झौता संसद्मा पेस गरेपछि पहिलो चरणको काम सकिएको छ, अब दुई चरण पूरा गर्नुपर्ने हुन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘दलहरूबीच सहमति भएको भए आइतबारै अर्को बैठक राखेर अनुमोदन गराउन सक्थ्यो ।’

सडकमा प्रदर्शन भए पनि यसको छिनोफानो संसदीय प्रक्रियाबाटै हुनेछ । सम्झौता संसद्मा पेस भएसँगै अनुमोदन गर्नेरनगर्ने अधिकार सांसदसमक्ष पुगेको छ । दलहरूबीच एमसीसीमा असहमति भएकै कारण सैद्धान्तिक छलफलसमेत नगराएको ती कर्मचारीले बताए । प्रतिनिधिसभाको अर्को बैठकमा दोस्रो चरणमा सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ । अर्को बैठक बिहीबारलाई राखिएको छ ।

सम्झौता संसद्मा पेस भएपछि सरकारले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुपर्ने प्रावधान छ । छलफल हुँदा अनुमोदन गर्नुपर्ने वा नपर्ने कुरामा सीमित रही सन्धिको सैद्धान्तिक पक्षमा मात्र छलफल हुन्छ । छलफलको समय कति तोक्ने भन्ने सभामुखको तजबिजमा भर पर्छ । ‘राष्ट्रिय महत्त्वको विषय भएकाले अरूभन्दा बढी समय छलफल हुन सक्छ,’ सचिवालयका ती कर्मचारीले भने । छलफलको अन्त्यमा सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।, यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्