काठमाडौं । आइसिसी विश्वकप टि-२० विश्वकप छनोट खेलमा नेपालले क्यानडामाथि सानदार जित निकालेको छ ।
सोमबार ओमान क्रिकेट एकेडेमीमा भएको खेलको नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । क्यनडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेटायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।
ओपनर आसिफ शेख १६ रनमा आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले १५ ओभरमा १० विकेट गुमाउँदै रन ८० जोडेको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिएका थिए ।
यो जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरको छ । फाइनल प्रवेशको लागि अब नेपालले समूह ए को उपविजेता युएईसँग खेल्नेछ ।
दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।
नेपालले युएईलाई पराजित गरे सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।














