काठमाडौं । यसै वर्ष अस्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने नेपालको यात्रा टुंगिएको छ । विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै टि-२० विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।
८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयाे । ओमान क्रिकेट एकेडेमी भएको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
युएईले भने आगामी अक्टोबर–नोभेम्बरमा हुने टि-२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युएई दोस्रो पटक टि-२० विश्वकपमा पुगेको हो । युएईले २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेलेको थियो ।











