सुस्ता । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताका नागरिकलाई नेपाली भएको अनुभूति गराउनुपर्ने बताएकी छन् ।
बुधबार सुस्ता गाउँपालिका वडा नम्बर ५ सुस्तामा सहरी बिकास कार्यालयले निर्माण गरेको सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सुस्ताबासीलाई सीमा रक्षकको रुपमा सम्मान गर्नुपर्ने बताइन् ।

सुस्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वले सबैभन्दा धेरै नागरिकताको कुरा उठाए पनि सुस्ताबासी नागरिकताविहीन हुनु दुखद भएको उनको भनाइे थियो ।
नेपालमा नागरिकता र लालपूर्जाको विषय सजिलै समाधान हुने विषय नभएकाले त्यसका लागि विशेष व्यवस्था गरेर भएपनि सुस्ताबासीका समस्या समाधान गर्न पहल हुनुपर्नेमा उनको जोड थियो ।
उनले सुस्तामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको पोस्टको आवश्यक भवन निर्माण गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेकी छन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य देवेन्द्र राज कँडेलले सीमा समस्या दीर्घकालीन रुपमा समाधानका लागि दुवै देशबाट पहल हुनुपर्ने बताए । उनले जतिसक्यो, सीमाको समस्या सुल्झाएर सीमांकन गरी नागरिकले भोगचलन गरेको जग्गाको नाप नक्सा गरी स्वामित्व दिनुपर्ने धारणा राखेका थिए ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्तामा स्थानीय सरकार आएपछि धेरै विकास भएको बताए । सुस्ताबासीको नागरिकताको समस्या समाधानका लागि विशेष क्षेत्र घोषणा गरेर एक हप्ता टोली खटाएर नागरिकता प्रदान गर्न उनले माग गरे ।














