काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकप्रिय लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरअगाडि कारबाट लडेर ६६ वर्षीय लामाको निधन भएको थियो ।
प्रहरीका अनुसार बुधबार बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा एउटा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा मृत फेला परेका थिए । लामाको शवलाई प्रहरीले पोष्टमार्टम गर्न दुवाकोटस्थित केएमसी अस्पताल पठाएको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–का लामाले पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए । लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पातलगायतका दर्जनौँ चर्चित गीत छन् ।














