Logo
Logo

युक्रेन भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको आग्रह


441
Shares

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यकबाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेका छन् । रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई देशबीच युद्धको सम्भावन बढेको भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ । बुधबार मन्त्रालयद्वारा सूचना गर्दै नेपाली नागरिकलाई स्वदेश फर्कँन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ । साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ।’

युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लका अनुसार युक्रेनमा झन्डै २ सय नेपाली रहेका छन् ।

वैदेशिक रोजगार विभागको २०७७÷७८ को तथ्यांकअनुसार व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गत वर्ष युक्रेन जानेमा ४७ पुरुष र ६ जना महिला रहेका छन् । तर, संस्थागत रूपमा स्वीकृति लिएर जानेको संख्या भने शून्य छ ।

प्रतिक्रिया दिनुहोस्