काठमाडौं । अभिनेता पल शाहविरुद्ध नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेको छ । एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर जबर्जस्ती करणी मुद्दामा शाहविरुद्ध उजुरी दता गराएकी हुन् ।

प्रहरीमा दिएको जाहेरी अनुसार अन्तिमपटक घटना भएको स्थान तनहु भएकाले उनी त्यहाँ पुगेकी हुन् । यसअघि उनले जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।
अभिनेता शाहविरुद्ध शाहविरुद्ध उजुरी परेपछि कानुनी व्यवस्थाबारे चर्चा सुरू भएको छ । अहिले ती गायिका १७ वर्षकी भइन् । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ ।
मुलुकी अपराध संहिताको दफा २१९मा भनिएको छ- ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा जबरजस्ती करणी मानिनेछ ।’
मुलुकी अपराध संहिता २०७४ अनुसार आरोप प्रमाणित भए पललाई १२ वर्षसम्मको जेल सजाय हुनसक्ने देखिन्छ । दफा २१९ को उपदफा-३ को (घ)मा भनिएको छ- ‘१६ वर्ष वा १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म सजय हुनेछ ।’
उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको आरोप छ ।












