काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।
एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी छन् ।
तीन नेताबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्नेबारे छलफल भइरहेको बुझिएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी संसद्मा टेबल गर्न दिएपनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका छन् ।














