Logo
Logo

प्रदर्शन हिंसात्मक नबनाउन गृहमन्त्री खाँणको आग्रह


441
Shares

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तारुढ दलकै भ्रातृ संगठनले आन्दोलन चर्काएपछि गृहमन्त्री बालकृष्ण खाँणले प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् । संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका हुन् ।

खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।

आन्दोलन शान्तिपूर्ण गर्न गृहमन्त्री खाँणले आग्रह गरेको अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले बताएकी छन् । सिंहले आफूहरुले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।

त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्