काठमाडौं । टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो भएको छ । बिहीबार भएको खेलमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हात पारेको हो ।
८८ रनको लक्ष्य पाएको नेपालले १६.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि ओपनर कुशल भुर्तेल ५५ र आरिफ शेख २१ रन बनाई अविजित रहे । कुशलले ५३ बल खेली ३ चौका र २ छक्का तथा आरिफले २७ बल खेली १ चौका प्रहार गरे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो ।
ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक २१ रन बनाएका थिए । ओपनर जतिन्दर सिंहलले २ रन, कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भएका थिए ।
नेपाल सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएर विश्वकप दौडबाट बाहिरिएको थियो । ओमान पनि आयरल्यान्डसँग अर्को सेमिफाइनलमा सजिलै ५६ रनले पराजित भएको थियो । विश्वकपमा स्थान पक्का गरिसकेका आयरल्यान्ड र यूएई बिहीबार नै फाइनल खेल्दै छन् । यूएईले उपाधि हात पार्न १ सय ६० रनको लक्ष्य पछ्याइरहेको छ ।











