Logo
Logo

देशभर ठगहरूको डरलाग्दो जञ्जाल


3.5k
Shares

काठमाडौं । पेशेवर प्रकृतिका ठगीका घटनाबाट नेपाल प्रहरी हैरान हुन थालेको छ । एकै व्यक्तिले नाटकीय शैलीमा सयौं जनालाई करोडौं रकम ठगी गर्ने प्रवृत्ति बढेपछि प्रहरी हैरान हुनुपरेको हो ।

त्यसरी ठगी गर्नेमध्ये एक हुन्, प्युठान तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरीप्रसाद पोखरेल । करिब २० वर्षदेखि उनले ठगीलाई नै पेशा बनाएका छन् । ठगी गरेरै करोडौं सम्पत्ति जोडेका उनी यतिबेला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासतमा छन् ।

ठग्दै हिँडेका उनलाई कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चेक प्वाइन्टबाट वडा प्रहरी कार्यालय चन्द्रौटाले गत साता पक्राउ गरेको थियो । उनीविरुद्ध करिब तीन करोड ठगीको उजुरी परेको डीएसपी धर्मराज भण्डारीले बताए । यसअघि उनी दुई पटक जेल बसेर छुटिसकेका व्यक्ति हुन् ।

समाचार स्रोतका अनुसार पोखरेलले आफूलाई मकवानपुरको चित्लाङस्थित भेडीगोठ बाख्रा फार्म, कामधेनुगाई फार्म खैरेनीपुर चितवनलगायत विभिन्न फर्मको प्रोप्राइटर भएको बताउँदै त्यही फर्मका लागि सामान खरिदका नाममा उनले ठगी गरेका हुन् ।

पोखरेललाई प्रहरीले बाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कारसहित समातेको छ । कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित केजीएन मार्ट पसलमा गत असार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिकलगायतको सामान किनेर आफू विजयनगर गाउँपालिका ४ मा रहेको गौमुखी फिड ईण्डष्ट्रिज एण्ड ट्रेडलिंकको प्रोपाइटर भन्दै ठगी गरेका थिए ।

उनले सामान खरिद गरेवापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिएका थिए । तर उक्त खातामा रकम नभएपछि उनले ठगेको रहस्य खुलेको थियो । धनी भएको विश्वासमा पारेर पैसा नभएको खाताको चेक दिने र फरार हुँदै आएका थिए ।

तिनै पोखरेलले दाङको राप्ती गाउँपालिका–२ मा साइन्स कलेज स्थापना गर्ने भनेर १ करोडभन्दा बढी रुपैयाँ, कैलालीको धनगढीमा मेडिकल कलेज खोल्ने भन्दै लाखौं रकम लिई ठगेकोे समेत उजुरी परेको छ ।

वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँका रड, भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँको हार्डवेयर सामग्री, चितवन टाँडीस्थित रिजाल फुड एण्ड वेभरेज प्रालिबाट २८ लाखको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाखको सामान, प्युठान सिमेन्ट कारखानाबाट २० लाखको सामान, गोल्छा अर्गनाइजेसनबाट ३० लाखको सामग्री र काठमाडौं टेकुस्थित एउटा मेशिनरी सप्लायर्सबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न सामानहरू लिएर खाली चेक भिडाएर उनी फरार भएका थिए । ठूला फर्मको नाममा कार्ड दिने तर भौतिक रुपमा त्यस्ता फर्म समेत नभएको डीएसपी भण्डारीले बताए ।

माओवादी नेता बनेर ठगी
यसअघि उनले ठगी गर्दा अझै नाटकीय शैली अपनाएका थिए । माओवादी नेताको नाममा उनले चारवटा बैंकका सीईओलाई चतुर तरिकाले ठगेका थिए ।

उनले नेत्रविक्रम चन्द विप्लव, जनार्दन शर्मा, हिमाल शर्मालगायत नेताको नाममा चारवटा बैंकका सीइओलाई फोन गरेर ३१ लाख रुपैयाँ लिएका थिए । माओवादी नेताकै आवाज निकालेर फोन गर्ने र उनीहरूकै नाममा नक्कली नागरिकताका आधारमा बैंक खाता खोलेर पैसा हाल्न लगाउने गर्थे ।

पोखरेलको गठी धन्दा यतिमै रोकिएन । उनले किस्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसँग १२ लाख, एनएमबी बैंकबाट नौ लाख ५० हजार, मध्यपश्चिम ग्रामीण विकास बैंकबाट पाँच लाख र कर्णाली विकास बैंकबाट चार लाख ५० हजार गरी ३१ लाख रुपैयाँ ठगेका थिए । उनले सापटका रुपमा सुरुमा थोरै माग्ने र त्यो पैसा केही दिनमै फिर्ता गर्थे । पछि धेरै मागेर लगेपछि फरार हुन्थे । त्यतिबेला महानगरीय अपराध महाशाखाले निकै मेहनत गरेर उनलाई पक्राउ गरेको थियो ।

सुरुमा माओवादीमा लागेका उनी पैसा उठाएको घटनामा कारबाहीमा परेपछि भारत गएका थिए । नेपाल आएपछि उनले ठगी धन्दा सुरु गरे । जेलबाट छुटेपछि फेरि सोही धन्दामा लागेको प्रहरी अधिकारी बताउँछन् । उनीविरुद्ध प्रहरीमा अहिले दिनप्रतिदिन उजुरी बढिरहेको छ । जति पक्राउ परेपनि उनी नसुध्रिने र उनमा ठगकै लत बसेको प्रहरी अधिकारी बताउँछन् ।

डा. क्रिष्टिका जेल बस्दै, ठग्दै
त्यस्तै प्रकृतीको ठगीमा संलग्न एक महिला यतिबेला महानगरीय प्रहरी वृत्त स्वयम्भुको हिरासतमा छिन् । आफूलाई डा. क्रिष्टिना भनेर चिनाउने स्याङजाकी कान्ति राना गुरुङलाई दुई साताअघि प्रहरीले पक्राउ गरेको हो ।

उनले जर्मनी पठाइदिन्छु भनेर दर्जनौं युवालाई ठगी गरेकी हुन् । आफू राष्ट्रसंघमा कार्यरत रहेको भनेर भ्रममा पारी उनले ठग्दै आएकी थिइन् । उनी पनि यस्तै अपराधमा विगतमा पटक–पटक पक्राउ परेर छुटेको खुलेको छ ।

अन्य व्यक्तिहरूको खाता प्रयोग गरेर उनले ठग्दै आएको काठमाडौं प्रहरीले जनाएको छ । यसअघि पनि बेलायत पठाइदिने भन्दै ठगी गरेको आरोपमा गौशला वृत्तले उनलाई पक्राउ गरी मुद्दा चलाएको खुलेको छ ।

न्यायाधीशको नाममा पनि ठगी
इटहरीमा न्यायाधीशको नाममा समेत ठगी भएको छ । जेलमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयँ ठगी गर्ने व्यक्ति आफैं प्रहरी हिरासतमा परेका छन् ।

कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाईदिन्छु भनी प्रलोभनमा पारी रकम ठगी गर्ने ईटहरी –१२ का मन्दु भनिने जसबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई थुनुवा मुक्त गराईदिन्छौँ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बूलाई पक्राउ गरेको हो ।

लिम्बु र ईटहरी–१२ कै भरत चौधरीले आफ्नो न्यायाधीस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाइदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै उनीहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बूलाई पक्राउ गरेको तथा अर्का आरोपितको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।

नक्कली सइको करामत
‘सीआईडीको सइ हुँ थुनाबाट छुटाइदिन्छु’ भनेर ठग्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका–१५ देउरालीका ३१ वर्षीय सुमन लामा यतिबेला आफैं थुनामा छन् ।

लागूऔषध मुद्दामा बर्दिबास हिरासतमा परेका सुनकोसी गाउँपालिका–४ का रमेश राना मगरलाई छुटाइदिन्छु भनेर उनकी श्रीमतीलाई रकमसहित चौतारा साँगाचोकगढी नगरको सुकुटे बोलाएर लामाले डिल गरेका थिए ।

‘म सीआईडीको सइ हो । श्रीमानलाई छुटाउने हो भने तीस हजार लिएर सुकुटे आउनु’ भनी लामाले मगरकी श्रीमतीलाई फोनमार्फत खबर गरेका थिए । पैसा लिन गएका बेला उनी पक्राउ परेका हुन् । उनले अरुलाई पनि त्यसैगरी ठगी गरेको आशंकामा प्रहरीले छानबिन अघि बढाएको छ ।

देशैभरी सोझा–साझा सर्वसाधरणलाई प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय देखिएको प्रहरीले जनाएको छ । त्यस्ता व्यक्ति पक्राउ परे पनि सहजै छुट्ने र छुटेपछि फेरि सोही धन्दामा लाग्ने गरेका छन् ।

२६ वर्षे युवकको ठगी धन्दा
पोखरामा यही बेला एउटा अनौठो किमिसको ठगी भएको छ । एक युवकले आफू राष्ट्रसंघमा कार्यरत रहेको भन्दै राष्ट्रसंघमा जागिर लगाउने प्रलोभनमा युवाहरूलाई ठगी गरेका छन् ।

डोटीका २६ वर्षीय दिनेश सिंहले यसरी ठगी गरेका हुन् । त्यसरी ठगी गर्ने उनको हतियार कुटनीतिक नम्बर प्लेटको गाडीसँग खिचिएका केही फोटोहरू थिए । तीनै फोटो देखाएर आफू राष्ट्रसंघको कर्मचारी भएको भनेर विश्वास दिलाउन उनी सफल भएका थिए ।

मासिक एक लाख तलबको जागिर दिलाउने भनेर उनले त्यसपछि ठगी गरेका हुन् । खासगरी चालकमा जागिर लगाइदिने भन्दै उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

कतिपयलाई आफू राष्ट्र बैैैंकको कर्मचारी भएको भनेरसमेत भ्रममा पारेर उनले ठगेका थिए । उनीविरुद्ध २० लाख रुपैयाँ ठगीको उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्