Logo
Logo

नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासनको माग


378
Shares

नवलपुरको पहाडी क्षेत्र

कावासोती । नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै जिल्लाको पहाडी क्षेत्रमा इलाका प्रशासन कार्यालयको माग गरिएको छ ।

पहाडी क्षेत्रका बासिन्दाले जिल्ला सदरमुकाम कावासोती पुगी नागरिकता बनाउन यातायातको असहजताका कारण सास्ती हुने गरेको भन्दै इलाकाको माग गरेका हुन् । नवलपुरको पहाडी क्षेत्रको बौदिकाली, बुलिङटार र हुप्सेकोटका केही भागका स्थानीयवासीलाई सडक जीर्ण भएकाले सदरमुकाम कावासोतीसम्म आउन निकै सास्ती रहेको छ । त्यसैले यस क्षेत्रका बासिन्दाले पहाडी क्षेत्रमा सबैलाई पायक पर्ने क्षेत्रमा मालपोत र जिल्ला प्रशासन कार्यालयबाट दिने सेवाको इलाका माग गरेका हुन् ।

बर्खायाममा करिब पाँच महिना जिल्लाको पहाडी क्षेत्रका बाटो भत्किँदा र पहिरो जाँदा यातायात पूर्णरूपमा अवरुद्धजस्तै हुने गर्दछ । यसले समेत सदरमुकाममा आएर सेवा लिन असम्भवजस्तै हुने गर्दछ । “यहाँका नागरिकले प्रशासनको सेवा लिन निकै कठिन छ, सदरमुकाम पुगेर नागरिकता बनाएर एकै दिनमा फर्किन मुस्किल छ”, डेढगाउँका एमाले नेता श्याम श्रेष्ठले भने, “राज्यले सहज नागरिकता दिने वातावरण बनाउनुपर्यो।”

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल डेढगाउँ पुग्दा पहाडका विकासका एजेण्डासहित ध्यानाकर्षणपत्रसमेत बुझाइएको थियो । बौदिकालीका सबै राजनीतिक दलले गाउँपालिकाको विकासका लागि गर्नुपर्ने योजनासहित इलाकाको समेत माग गरिएको नेपाली कांग्रेस बौदिकाली गाउँपालिका सभापति केवि रानाले बताए । उनुभयो । रानालगायतको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

मुख्यमन्त्री डेढगाउँ पुगेकै दिन गण्डकी प्रदेशका विद्यायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले पहाडमा इलाकाको माग पहिलेदेखि भएको भन्दै अब यसको स्थापनाका लागि मुख्यमन्त्रीले पहल गर्नुपर्ने आवाजसमेत उठाए ।

सदरमुकामबाट करिब ५० किलोमिटरमा रहेका बौदिकाली र बुलिङटार विकट क्षेत्रका रुपमा रहेका छन् । भौगोलिक कठिनाइका कारण जिल्लास्थित कार्यालयबाट सहज सेवा लिन यहाँका बासिन्दाले सकिरहेका छैनन् । पहाडी क्षेत्रलाई राज्यले विशेषरूपमा हेर्नुपर्ने बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्