
काठमाडौं । संसदमा अनुमोदानका लागि पेस भएको एमसीसीबारे लामो समयदेखि अनिर्णित रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) छलफलमा जुटेको छ ।
एमसीसीबारे धारणा तय गर्न दबाब बढेसँगै जसपाले आज मध्यान्न १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । आजको बैठकले अमेरिकन सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा पार्टीको धारणा तय गर्ने बताइएको छ ।
एमसीसीको विषयमा जसपा भित्र दुई धारणा रहँदै आएको छ । अध्यक्ष उपेन्द्र यादव संशोधन नगरी पारित गर्नुहुन्न भन्ने पक्षमा छन् भने संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई अहिलेकै अवस्थामा एमसीसी पारित गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।
जसपा एमसीसीमा अनिर्णत रहनुको मुख्य कारण पार्टीमा बढ्दो मतभेद हो । पछिल्लो समय यादव र भट्टराईबीच बोलचाल नै नरहेको नेताहरुले बताउँने गरेका छन् ।
जसपाको आन्तरिक मतभेद पार्टी विभाजनसम्म पुग्ने सम्भावना देखिन्छ । मुख्यत संघीय परिषद अध्यक्ष भट्टराई पार्टी विभाजन गर्ने तयारीमा रहेको देखिन्छ । उनका पछिल्ला गतिविधि पनि पार्टी विभाजन उन्मुख बुझिन्छ ।
भट्टराईले पार्टीका महत्वपूर्ण निर्णयहरुमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने माग राख्दै आएका छन् । सोही मागलाई बल पुग्नेगरी भट्टराईको नेतृत्वमा हस्ताक्षर संकलसमेत भइरहेको छ ।
पछिल्लो एक छलफलमा भट्टराईले आफ्नो पनि हस्ताक्षर हुनुपर्ने प्रस्ताव राखेका थिए । तर, उक्त छलफलमा नेता राजेन्द्र श्रेष्ठले समानान्तर दुई अध्यक्षको अभ्यास आफ्नै पार्टी र नेकपामा समेत फेल भइसकेकाले जसपामा प्रयोग गर्न नसकिने धारणा राखेपछि त्यसबारे थप छलफल भएको छैन ।
बाबुरामले जसपामा शक्तिशाली हुनका लागि अरु पनि प्रयत्न गरेका छन् । अशोक राई लगायतलाई आफ्नो पक्षमा पार्न खोजे पनि त्यसमा उनी असफल भएका छन् । तर, पार्टी विभाजन गर्ने उनको योजना सफल हुन सकेको छैन ।
आजको बैठकमा भट्टराईले जस्ताको त्यस्तै एमसीसी पारित गर्नुपर्ने पक्षमा धारणा राख्ने बुझिएको छ । उक्त प्रस्ताव पारित नभए यसै विषयलाई आधार बनाएर पार्टी विभाजनका लागि थप गतिविधि बढाउने उनको तयारी रहेको भट्टराई निकट स्रोतले बताएको छ ।











