काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमित देखिएका छैनन् ।
कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् ।
पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेका जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् ।
जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।जिल्लामा हाल १६ सक्रिय सङ्क्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार सङ्क्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सङ्क्रमणदरभन्दा सङ्क्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।
जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो ।
हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलव ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सङ्क्रमण मुक्त भइसकेका छन् ।














