
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्ने संकेत गरेका छन् ।
नेता कोइरालाले कांग्रेस–एमालेकै मतबाट एमसीसी अनुमोदान हुने र त्यसपछि कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने संकेत गरेका हुन्
एमसीसी अनुमोदान भएपछि वर्तमान सरकार रहिरहन नसक्ने बताउँदै नेता कोइलाराले एमालेसँगको गठबन्धनमा नयाँ सरकार गठन हुनसक्ने बताएका हुन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालालले भने– ‘एमसीसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ, नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’
पछिल्लो समय नेपाली कांग्रेस वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता नदिने पक्षमा देखिन्छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन नरहे पनि एमसीसी पारित गर्न तयार हुनुले पनि गठबन्धनमा कांग्रेसको लगाव हट्दै गएको विश्लेषण हुने गरेको छ ।
पछिल्लो समय सत्ता नेतृत्व दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच एमसीसी अनुमोदन गराउने विषयमा छलफलले तीव्रता पाएको छ ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी पारित गर्ने र त्यसपछि कांग्रेस–एमालेको सरकार गठन गर्ने विषयमा आधारभूत सहमति भइसकेको समेत चर्चा हुने गरेको छ ।
यसैबीच, नेता कोइरालाले एमसीसी पारित भएपछि कांग्रेस–एमालेको सरकार बन्नसक्ने बताउँदा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको तयारीबारे हुने चर्चालाई चथप बल पुगेको छ ।














