Logo
Logo

माग पूरा नभएसम्म एमालेले एमसीसीमा सहयोग नगर्ने


1.6k
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म एमसीसी अनुमोदनको लागि सहयोग नगर्ने भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भएको छलफलमा ओलीले आफ्ना मागहरु पूरा नभएसम्म एमसीसीको विषयमा भूमिका खेल्न नसक्ने जफाव दिएका छन् । संसदमा पेस भएको एमसीसी अनुमोदन गर्न सहयोगको अनुरोध गर्न ओली निवास बालकोट पुगेका देउवालाई ओलीले यस्तो जवाफ दिएका हुन् ।

ओली–देउवा भेटपछि प्रतिक्रिया दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एमाले अहिलेसम्म स्पष्ट ढंगले अघि बढेको छ । हाम्रा मागहरु पूरा नभएसम्म हामी कुनै पनि संसदीय प्रक्रियामा सामेल हुन्नौं, त्यसैले पहिले हाम्रा मागहरु पूरा हुनुपर्छ, त्यसपछि एमसीसीको विषयमा छलफल गर्न सकिन्छ, अध्यक्ष ओलीले भन्नुभएको यही हो ।’

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने अडान राख्दै संसद अवरुद्ध गर्दै आएको छ । सोही माग पूरा भएपछि मात्र एमसीसीको विषयमा अघि बढ्ने ओलीले देउवालाई जवाफ दिएका हुन् ।

छलफलमा देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की थिए भने एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्