मङ्गलबारे । ‘इलामका सहयोगीदाताहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलसिस मेशिन चलाउन पहल थालेको छ ।

मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेशिन धरानको रोटरी क्लबमार्फत् एक वर्षअघि नै तीनवटा उपलब्ध भएका थियो । तर, दक्ष जनशक्ति र आर्थिक अभावमा सो मेशिन सञ्चालनमा आउन सकेको छैन ।
संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मेशिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष रतनलाल चौधरीले मेशिन चलाउन प्रतिमहिना रु. पाँच हजार पाँच वर्षसम्म दिने घोषणा गरेका छन् । “उपकरण भएर पनि प्रयोगमा नआउँदा धेरैले झन्झट खेप्नु परेको छ”, उनले भने, “जसरी भए पनि जिल्लामा नै सेवा दिने पहलमा लागेका छौँ ।”
विसं २०७३ मा स्थापित सहयोगी हातले न्यून आयस्तर भएका २५० भन्दा धेरैलाई उपचार सहयोग पुर्याइसकेको छ । संस्थाको कोषमा रु. ४५ लाखभन्दा बढी रकम जम्मा छ । यही कोषमा पछिल्लोपटक स्थानीय मनकुमारी उप्रेतीले रु. ५० हजार सहयोग गरेकी छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहले तत्काल एकजना स्वास्थ्यकर्मीलाई तालिमका लागि पठाउने तयारी भइरहेको जानकारी दिए । यो मेशिन सञ्चालन गर्ने जनशक्ति भए जिल्लावासीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।














