
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी अनुमोदन गरिए देशले युक्रेनको जस्तै दुःखद अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन् ।
संसदमा प्रस्तुत भएको एमसीसीमाथि आजबाट सुरु भएको छलफलमा सहभागी हुँदै नेता खनालले एमसीसीका कतिपय प्रावधानहरु नेपालको सार्वभौमिकतामाथि गम्भीर आघात पर्याउने खालका रहेकाले भविष्यमा नेपालले पनि युक्रेनकै जस्तो संकट भोग्ने खतरा रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सम्बोधनका क्रममा भने– ‘हामीले एउटा स्वतन्त्र राष्ट्र युक्रेनको अवस्था देखिएरहेका छौं । एमसीसीका कतिपय प्रावधानहरुले कालान्तारमा हाम्रो देशलाई पनि सोही अवस्थामा पर्याउन सक्छ । त्यसैले यस्तो गम्भीर विषय संसदबाट अनुमोदन गर्न सकिन्न ।’
नेता खनालले संसदमा एमसीसी अनुमोदन गर्न नसकिने बताए पनि प्रतिनिधिसभाको बैठक अगाडि बसेको एकीकृत समाजावदीको बैठकलाई एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।











