
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले नमाने नेपालमा एमसीसी कार्यान्वयन नहुने बताएका छन् ।
आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने नमाने नेपालमा यसको कार्यान्वयन नहुने बताएका हुन् ।
छलफलका क्रममा सांसद थापाले भने– ‘व्याख्यात्मक टिप्पणीसमेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मानदैन ? नमाने सन्धि अगाडि बढ्दैन । पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ । उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मा सन्धि अगाडि जाने हो ।’
सांसद थापाले एमसीसीबारे जनतालाई विश्वस्त पार्ने दायित्व सबै राजनीतिक दल र नेताको भएको समेत बताएका छन् ।











