गोरखा । उत्तरी गोरखामा क्रियाशील राजनीतिक दलले गोरखाको उत्तरी दुई गाउँपालिकालाई छुट्टै जिल्ला बनाउन पहल गर्ने औपचारिक निर्णय गरेका छन् ।
धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माछाखोलामा सम्पन्न संयुक्त बैठकले यी दुई गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउन पहल गर्न समन्वय समितिसमेत गठन गरेका छन् ।

भौगोलिक रुपमा बिकट रहेको उत्तरी क्षेत्रको समानुपातिक विकास हुन नसकेको भन्दै उत्तरी गोरखाका बासिन्दाले छुट्टै जिल्लाको माग गरिरहेका बेला सम्पन्न सर्वदलीय बैठकले अलग्गै जिल्लाका लागि चरणवद्ध अभियान सञ्चालन गर्ने निर्णय गरेको अभियन्ता गणेश कार्कीले जानकारी दिए ।
उनले धार्चे र चुमनुब्री गाउँपालिकामा एउटा पनि स्वीकृत माध्यमिक तहको विद्यालय नभएको र दुर्गममा रहेकाले सरकारको नजर नपरेकाले बताए । उनले कर्मचारीसमेत सदरमुकाम नछाड्ने बताउँदै भने, ‘त्यसैले जिल्ला नै छुट्टै भयो भने त कम्तिमा कर्मचारी त बस्छन् । प्रतिनिधिसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधि भयो भने यहाँको समस्याको सम्बोधन हुन्छ कि भन्ने आशाले छुट्टै जिल्ला माग गरिएको हो ।’
उनका अनुसार गोरखा जिल्लाको क्षेत्रफल ३,६१० बर्गकिलोमिटरमध्य चुमनुब्री र धार्चेको मात्रै २,२०० वर्गकिलोमिटर अर्थात् ६० प्रतिशत क्षेत्रफल रहेको ।
छुट्टै जिल्लाका लागि चरणवद्ध पहल गर्न जसपा धार्चेका संयोजक विशु गुरुङका अध्यक्ष र नेपाली कांग्रेस चुमनुब्री गाउँ समितिका सभापति सूर्य गुरुङ सहसंयोजक रहेको १५ सदस्यीय सर्वदलीय समिति गठन गरिएको छ ।
सो समितिमा चुमनुब्री गाउँपालिकाका माओवादी केन्द्रका सचिव बलबहादुर गुरुङ, जसपा संयोजक गणेश कार्की, नेकपा एमालेका संयोजक चन्द्र गुरुङ, धार्चे गाउँपालिकाका कांग्रेस सभापति सन्तोष गुरुङ, माओवादीका अध्यक्ष सूर्य गुरुङ (विस्फोट), एमालेका सचिव राम गुरुङ, रहेका छन् ।
त्यस्तै चुमनुब्री गाउँपालिकाकी उपप्रमुखहरु कुमारी गुरुङ र धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङ, दलित समुदायबाट मिनबहादुर सुनार, यस क्षेत्रका इतिहासका जानकार टेकबहादुर गुरुङ, समाजसेवी सुनार गुरुङ, उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमानसिँह गुरुङ रहेका छन् ।











