
काठमाडौं । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्र विक्रम चन्द ‘विप्लव’ राजनीतिक स्पेस खोज्न व्यस्त छन् ।
केपी ओली सरकारसँग सम्झौता गर्दै हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले विभिन्न चरणमा धेरै नेतालाई भेटिसकेका छन् । तर, उनले मेसो पाएका छैनन् ।
विभिन्न चरणमा मूल पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरे पनि विप्लवले मूलघर माओवादीमा सुरक्षित स्थान देख्न सकेनन् । माओवादीको आठौं महाधिवेशनको पूर्वसन्ध्यामा माओवादीसँग पार्टी एकता गर्ने मनस्थितिका साथ प्रचण्डसँग छलफल गरेता पनि उनी सफल भएनन् ।
माओवादीमै फर्केर राजनीतिक भविष्य सुनिश्चित गर्न असफल भएपछि विप्लव माओवादीका असन्तुष्ट नेतासँग निरन्तर भेटवार्ता तथा छलफलमा जुटेका छन् ।
यसै क्रममा एमसीसी अनुमोदनसँगै माओवादीमा असन्तुष्टि बढेपछि असन्तुष्ट नेतासँग नयाँ पार्टी गठनका लागि विप्लवले पहल थालेका हुन् । एमसीसी अनुमोदनपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा विरोध जनाएपछि विप्लवले श्रेष्ठलाई फोनमार्फत ‘नयाँ पार्टी गठनका लागि पहल गरौं भन्दै’ प्रस्ताव राखेका थिए ।
श्रेष्ठले ‘भेटेरै कुरा गरौन’ भनेपछि आशावादी बनेका विप्लव बुधबार बिहानै श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । दुई नेताबीच एक घण्टा छलफल भएको थियो । छलफलका क्रममा विप्लवले श्रेष्ठसँग ‘प्रचण्डबाट क्रान्ति अघि बढ्न नसक्ने भन्दै क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरौं’ भनेका थिए । तर, नेता श्रेष्ठले भने अहिले नै त्यो निष्कर्षमा पुग्न नसकिने जवाफ दिए ।
हिंसात्मक गतिविधिमा रहँदा विप्लव नेतृत्वको पार्टीप्रति जनमानसमा त्रास थियो । त्यसैको बेलमा नेता कार्यकर्ता चन्दा असुलिमा लिप्त भए । तर, मूलधारको राजनीतिमा आएपछि ति नेता सबै लाखापाखा लागेपछि विप्लव कार्यकर्ताविहीन भएका छन् ।
क्रान्ति गर्ने भन्दै अलग पार्टी गठन गरेका विप्लव पछिल्लो समय वर्तमान व्यवस्थालाई नै टेकेर अघि बढ्ने निष्कर्षमा पुगिसकेका छन् । तर, संसदीय व्यवस्थामा राजनीतिक अस्तित्वका लागि निर्वाचन जित्नै पर्ने बाध्यात्मक परिस्थितिका कारण विप्लव कुनै न कुनै पार्टीसँग एकता गरेर अघि बढ्ने तयारीमा लागेका हुन् ।














