Logo
Logo

पलायन हुने अवस्थामा भेडापालक कृषक


- दृष्टि न्युज/संवाददाता

0
Shares

दार्चुला, ३२ जेठ । भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जंगल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् ।
‘भेडाबाख्रा चराउन वन जंगल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ’, महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भने । ‘१०÷१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु’, उनले भने, ‘वनजंल छैन । गाउँमा चराउन मिल्दैन । गत वर्ष झण्डै १५० को हाराहारीमा भेडा थिए । बिक्री गरिसकेँ, उनले भने, ‘अहिले ३० जति मात्रै पालेको छु । यति भेडाबाख्रा चराउन पनि वन छैन । गाउँमा वन नहुँदा अहिले भेडाबाख्रा चराउन व्यास गाउँपालिकाको वडा नम्बर १ नाम्पा हिमाल ल्याएको छु’, उनले थपे ।
भारतीय बाटो भएर नाम्पा हिमालसम्म बाख्रा चराउन ल्याइएको छ । बाटोमा ल्याउँदा निकै झण्झटिलो हुने बोहोराले सुनाए । नेपालबाट भारतमा ल्याउँदा भन्सार, पशु विभाग र तोक लगाएबापत ११० भारतीय रुपैयाँ खर्च हुन्छ । अझ नाम्पा क्षेत्रमा चरिचरन बापत प्रतिबाख्रा कति रुपैयाँ तिर्नुपर्छ भन्ने थाहा नभएको बताए । गत वर्ष अपि नाम्पा संरक्षण क्षेत्र र स्थानीयले सामुदायिक वनबापत दोहोरो शुल्क लिएका थिए । अहिले अपि नाम्पा संरक्षण क्षेत्रले रकम लिएको छैन तर स्थानीयले के गर्ने हुन जानकारी छैन ।
गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन् । टाढा टाढा मात्रै वन जंगल छ । नाम्पा हिमाल क्षेत्रमा मात्र तीनदेखि पाँच हजार भेडा चराउने गरेका छन् । अपि फेद नाम्पा कौवा लेक हिमाल क्षेत्रमा अहिले भेडाबाख्रा चरिचरन खुला छ ।
अर्का व्यवसायी गम्भीरे धामीले भने, ‘विगतमा हजारौँ भेडाबाख्रा थिए अहिले ६०० मा झारेको छु । यही भेडाबाख्रा पनि कहाँ लगेर पाल्ने भन्ने चिन्ता छ । अहिले गाउँको गर्मी छल्न लेकतिर लिएर पालन गरेका छौँ । लेकबाट ल्याएर बिक्री गर्नुपर्छ ।’ अधिकांश ठाउँमा सामुदायिक वनमा भेडाबाख्रा चराउन बन्द गरेपछि समस्या भएको भेडापालक किसानको भनाइ छ । भेडापालनबाट आम्दानी भए पनि चरिचरन अभावले समस्या भएको उनीहरुको गुनासो छ । अहिले जिल्लामा भेडा रु १० हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्