चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा धेरै महिलालाई मेयर र उपमेयर बनाउने चाहना रहेको बताएका छन् ।

बुधबार चितवनको आँप टारीमा भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भरतपुर महानगरपालिकाको उदाहरण दिँदै यस्तो बताएका हुन् ।
उनले महिलाले नेतृत्व लिएको स्थानको सफलता सुशानमा समेत देखिएको बताए । उनले भने, ‘धेरै पालिका प्रमुख र उपप्रमुख यसपल्ट महिलालाई बनाउने विचार छ । धेरै वर्ष पुरुषले राज गरियो अब महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं। केही वर्ष महिलाले राज गरेको हेरौं।’
प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताए । प्रचण्डले थपे, ‘यसले नै धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम हुँदोरहेछ भन्ने देखिएको छ । महिलाकोमा जिम्मेवारी अर्कै खालको हुन्छ । त्यसको अर्थ सबै महिला हुन्छन् भन्ने त होइन ।’
प्रचण्डले मन्त्रिपरिषद्मा पनि महिलाहरु सफल देखिएको बताए। माओवादी केन्द्रबाट मन्त्री बनेका ऊर्जामन्त्री पम्फा भूसाल र भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उनले प्रशंसा गरे।














