काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रथम सहिद’ अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
गत शुक्रबार एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधन गर्दै ओलीले लखन थापा नेपालको पहिलो सहिद नभएको बताएका थिए । नेपालको पहिलो सहिद बाँकावीर भएको उनको भनाइ थियो ।

ओलीको उक्त अभिव्यक्तिप्रति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पाले आपत्ति जनाएका हुन् । नेपाल आदिवासी जनजाति पर्यटन महासंघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले ओलीको उक्त अभिव्यक्तिले सिङ्गो आदिवासी जनजाति समूदायको भावना र परिवर्तनकामी आन्दोलनको मर्ममा प्रहार गरेको बताए ।
नेपाल सरकारले विभिन्न तथ्य र प्रमाणका आधारमा लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको स्मरण गर्दै अध्यक्ष शेर्पाले परिवर्तनकामी आन्दोलनमा ज्यानको आहुति दिएका व्यक्त्तिवारे भ्रम छर्नेगरी अभिव्यक्ति सार्वजनिक गर्नु गलत भएको बताए ।

अध्यक्ष शेर्पाले प्रथम सहिदबारे धारणा सच्याउन ओलीसँग आग्रहसमेत गरे । उनले भने, ‘प्रथम सहिदबारे ओलीको धारणाप्रति हाम्रो आपत्ति छ । यसले सिङ्गो आदिवासी जजतिको भावनामा चोट पुर्याएको छ । त्यसैले ओलीजीलाई आफ्नो धारणा सच्याउन अनुरोध गर्दछु ।’
‘प्रथम सहिद लखन थापा नभएको’ ओलीको धारणाप्रति चौतर्फी आलोचना भैरहेको छ ।















