नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले एमालेलाई नेतृत्व दिने दाबी गरेका छन् । समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको उनको भनाइ छ ।

बिहीबार नेपालगञ्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको दावी गरे ।
अध्यक्ष ओलीले नेकपा समाजवादी पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएपछि भने, ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन् ।’ उनले बाँकेमा मात्रै नभएर एमाले प्रवेशका लागि देशभरी जनलहर चलेको बताए ।














