Logo
Logo

अमेरिकी लगानी भित्रिएको समाचारप्रति अर्थमन्त्रीको ध्यानाकर्षण


3.2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ शीर्षकको समाचारमा सत्यता नरहेको तर वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न प्रतिबद्धत रहेको उनले बताए ।

पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १७ माघ, ०७८ मा राष्ट्र बैंकलाई पत्र लेख्दै शाहले कसुर अपराध गरेको स्थापित हुने आधार नदेखिई बैंक खाताहरु रोक्का राख्नु नपर्ने देखिएको जनाएको थियो ।

विभागले ११ माघ, ०७८ मा शाहको नाममा रहेका बैंक खाताहरु फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैंक र अन्य बैंकलाई पनि पत्राचार गरेको थियो । तर, विभागको पत्राचारअनुसार बैंक खाताहरु फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मा समक्ष निवेदन दिएको थियो ।

शाहले निवेदन र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको विभिन्न पत्रसमेत पेश गरेको आधारमा उहाँलाई थप दुःख नदिई बैंक खाता फुकुवा गर्नुपर्ने र बैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्नुपर्ने निष्कर्षसहित अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रअनुसार शाहको खाता फुकुवा गरिदिन अनुरोध गरेको बताए ।

‘सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले शाहको बैंक खाता फुकुवा गर्नु भनि दिएको निर्देशन कार्यान्वयन गर्नु भनेर राष्ट्र बैंकलाई अनुरोध गरी पठाएको हो’ मन्त्री शर्माले भने । विदेशबाट आएको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको पनि उनले प्रष्ट पारे । वैदेशिक लगानीलाई सहजीकरण गरी थप लगानी भित्र्याउने वातावरण बनाउन उनले सबैलाई आग्रह पनि गरेका छन् ।

अनुसन्धानमा तानिएका शाहले न्यायका लागि अर्थमन्त्रीलाई अनुरोध गर्दा उनलाई अप्ठ्यारो पार्ने गरी यो घटनामा जोडिएकोमा दुःख व्यक्त गरे । ‘मैले दुई वर्षदेखी न्यायका लागि धाइरहेको छु । यसक्रममा अर्थमन्त्रीले प्रचलित कानूनअनुसार गरेको सहयोगप्रति म आभार व्यक्त गर्दै उहाँलाई लगाइएको विभिन्न लान्छनाप्रति म खेद् व्यक्त गर्दछु’ शाहले भने ।

प्रतिक्रिया दिनुहोस्