
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई विभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिए ।
निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरुलाई प्रशिक्षण दिइएको उनले बताए । त्यस्तै, आयोगले आचारसंहिताका कार्यान्वयनका लागि विभिन्न दलबाट प्रतिवद्धता लिइएको बताए ।
उनले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राखे । अर्यालले मतपत्र छपाईको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्नका लागि सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिए । निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आउनेक्रम जारी रहेको उनले बताए ।














