काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेका चिन्तालाई सलाम गर्न सक्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्नेसमेत बताए ।

अर्थमन्त्री शर्माले भने, ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् ।’ तुलना हुनै नसक्ने कुरामा तुलना गरेर आम जनतालाई आतंकित पार्ने काम भइरहेको समेत बताए ।
अर्थमन्त्री शर्माले भने, ‘आज जनतालाई आतंकित पार्ने काम एक थरीले गरेका छन् त्यो गलत छ, त्यसको खण्डन गर्नुपर्छ । अर्थतन्त्रमा फेरि समस्याहरु छन्, त्यो हामीले पनि भनिरहेका छौँ । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई श्रीलंका बनाउने रहर छ । तिनको सपना पुरा हुँदैन ।’
अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्याउनुपर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्री शर्माले नेपालमा डलर सिञ्चिति साढे ६ महिनाका लागि रहेको भन्दै योबाट तल झर्न नदिने बताउँदै विलासिताका सामानहरु आयातमा घटाउनुपर्ने बताए ।














