Logo
Logo

न्यायाधीश र वकिल मिलेपछि…


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । न्यायालयमा आर्थिक प्रभावमा परेर फैसला गर्ने न्यायाधीशमाथि न्यायपरिषद्ले कारबाही गर्ने कुरा त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले चर्को स्वरमा प्रचार गर्दै आएका छन् । तर, सीमित न्यायाधीशमाथि मात्र भएको छ । तर, न्याय क्षेत्रमा विकृति अझै कम भएको छैन ।

मानव बेचबिखन तथा संगठित अपराध जस्तो जघन्य अपराधका अभियुक्त समेत धरौटीमै छुट्न थालेका छन् । दर्जनौं युवालाई अमेरिका पठाउने भनेर बीचैमा अलपत्र छाड्ने दाङका टोपबहादुर जीसी सरकारी वकिल र अदालतमा सेटिङ मिलाएर गत साता छुटेका छन् ।

उनलाई पैसा बुझाएर अमेरिका गएका एक युवक डेढ वर्ष जेल बसेका थिए । त्यसक्रममा उनको ७५ लाख रुपैयाँ सकिएको थियो । नेपाल फर्किएपछि न्याय माग्दै प्रहरीमा उजुरी दिएकोमा न्यायाधीशले अभियुक्तलाई छाडिदिएपछि उनी बिचल्ली भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको इजलासले जीसीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

स्रोतका अनुसार यो मुद्दामा सुरुदेखि नै प्रहरीमाथि दबाब र प्रभाव आएको थियो । किनकी जीसी नेकपाका प्रभावशाली व्यक्ति थिए । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार थिए । त्यसकारण ठूला नेताहरुसमेत उनलाई छुटाउन लागेका थिए । दाङका पत्रकारहरु पनि उनको पक्षमा लागेका थिए । त्यस्तै ठूलो रकम आर्थिक चलखेल समेत भयो ।

न्यायाधीश मात्र होइन सरकारी वकिल समेत जीसीकै पक्षमा लागेका थिए । प्रहरीको तर्फबाट सरकारी वकिलले बहस गर्न चासो नै दिएका थिएनन् । जिल्ला सरकारी वकिल कार्यालयबाट उमाकान्त पौडेल बहस गर्न गएका थिए । सरकारी वकिलले नै अभियुक्तलाई थुनामा राख्नुपर्ने भनेर बहस नगरेपछि अभियुक्तलाई फाइदा भएको थियो ।

प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै ती युवासँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्काएर थप पैसा असुली गरिएको हो । भारतबाट यूएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका पु¥याइएको थियो ।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जीसीलाई ब्यूरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको हो । जीसीले हाल मृत्यु भइसकेका एक प्रदेशसभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । गिरोहका अन्य सदस्यहरु अझै पनि मानवतस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

अभियुक्तहरुलाई प्रहरीले संगठित अपराध मुद्दा समेत चलाएको थियो । यस्तो गम्भीर मुद्दाका अभियुक्त धरौटीमै छुटेपछि प्रहरी अधिकारीहरु निरास भएका छन् । यसअघि पनि मानवतस्करीका अभियुक्तहरु अदालतबाट छुट्ने र फेरि सोही धन्दामा लाग्ने गरेका छन् ।

हाल प्रहरीकै हिरासतमा रहेका कमल भन्ने लोकमान राई विगतमा पनि पक्राउ परी छुटेका व्यक्ति हुन् । टर्कीमा मानवतस्करी गरेको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो । २४ पुस ०७४ मा उनी पक्राउ गरेको थिए । अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेपछि उनले यही धन्दालाई निरन्तरता दिएका थिए । अहिले लिबियामा मानवतस्करीको आरोपमा उनी फेरि पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि इटली लैजाने भन्दै लिबिया पु¥याएर १५ युवालाई अलपत्र बनाएको प्रहरीले जनाएको छ ।

युवाहरुलाई विदेश पठाउने भनेर करोडौं ठग्ने र पक्राउ परेपछि पनि अदालतमा सेटिङ मिलाएर धरौटीमै छुट्न थालेपछि मानवतस्करी झन् भयावह बन्ने जोखिम बढेको छ । अमेरिकाले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा मानवतस्करीमा नेपाल विश्वकै एक प्रमुख स्रोत मुलुक हो । त्यही भएकाले सरकारले यससम्बन्धी अपराध अनुसन्धानका लागि छुट्टै ब्यूरो नै स्थापना ग¥यो । तर, अदालतबाट प्रहरीले साथ पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्