Logo
Logo

सरकारका लागि घाँडो बने खरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल वायुसेवा निगम र थाई इन्टरनेशनल एयरलाइन्सको स्थापना भएको ६१ वर्ष पूरा भयो । यो ६१ वर्षमा थाई एयरलाइन्स कहाँ पुग्यो ? नेपाल वायुसेवा कहाँ छ ? यी दुईबीच तुलनै हुन सक्दैन । निगमलाई चारवटा एयरबस घाँडो भएको छ । तर, आज थाईसँग ८० वटा ठूला जहाज छ । विश्वभरि उसले उड्यान भरेको छ । यस्तो किन भयो भनेर विश्लेषण गर्ने हो भने सरकारी नीति र निगम व्यवस्थापनकै दोष देखिन्छ । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछि हरेक पार्टीका नेताले निगमलाई कामधेनु गाई बनाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमसँग भएका दुईवटा बोइङ बेचेर निगमलाई जहाजविहीन मात्रै बनाएनन्, धमिजा र लाउडाजस्ता काण्ड मच्चाएर निगमलाई धरासायी बनाए । त्यसपछि आएका कम्युनिष्ट सरकारले पनि निगमलाई उठाउने कुनै प्रयत्न गरेनन् । निगमलाई कार्यकर्ता भर्तिकेन्द्र बनाए । निगमको इतिहासमा तत्कालीन महाप्रबन्धक सुगनरत्न कंशाकारले दुईवटा वाइडबडी, दुई न्यारोबडी र ६ वटा आन्तरिक उड्यानका लागि चिनियाँ जहाज भित्र्याए । यो निगमको लागि सुवर्ण अवसर थियो । तर, सुगतरत्न कंशाकारलाई उनको योजनाअनुसार निगमलाई अगाडि बढाउने वातावरण दुईतिहाइको सरकारले पनि बनाउन सकेन । कंशाकारमाथि अक्षम कार्यकारी अध्यक्ष मदन खरेललाई ल्याइयो । खरेल आएको दश महिना बित्दासमेत खरेलले सिन्को भाँच्न सकेनन् । तिनै खरेलको निमन्त्रणामा हिजो प्रधानमन्त्री केपी शर्मा ओली निगमको ६१ औँ वार्षिकोत्सवको प्रमुख अतिथि बन्न अफिसर्स क्लब पुगे ।

आर्मी अफिसर्स क्लबमा आयोजित निगमको वार्षिकोत्सवमा ओलीले निगमको व्यवस्थापन चुस्तदुरुस्त बनाएर आर्थिक रुपमा सवल बन्न सुझाव दिए । वर्तमान व्यवस्थापन अक्षम भए सरकारले व्यवस्थापनका विषयमा सोच्ने चेतावनी पनि दिए । प्रधानमन्त्री ओली आफैँले नियुक्त गरेका व्यवस्थापनसँग कति रुष्ट रहेछन् भन्ने कुरा प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष खरेल बोल्नुभन्दा अगाडि बोलेर बाहिरिए । खरेलको कुरा सुन्नै चाहेनन् । ओलीको चाहना निगमको सुदृढीकरण थियो र बाध्यता मदन खरेल । मदन खरेलको नियुक्ति निगम सुदृढीकरणका लागि भन्दा पनि हवाई माफियाको आडमा भएको थियो । त्यसैले खरेलले आफू निगमको अध्यक्ष नियुक्त हुनासाथ २० अर्ब रुपैयाँ सरकारसँग माग गरे । तर, प्रधानमन्त्री ओलीले हिजोको समारोहमा उनको माग अस्वीकार गरे ।

प्रधानमन्त्री ओलीले जापानको नारितामा ‘वाइडबडी’ जहाज उडाउनुपर्नेमा जोड दिए । सुगतरत्न कंशाकारले नारिता उड्यानका लागि जीएसए समेत नियुक्त गरेका थिए । तर खरेल आएपछि उनले कमिशनका लागि ओशाका उड्यानको लागि प्रक्रिया सुरु गरेका थिए । जापानको ओशाकामा उड्यान गर्ने भनेर अध्यक्ष खरेल गतसाता जापान पुगेर फर्किएका छन् । तर, ओशाकामा पनि जीएसए नियुक्तिको ‘बार्गेनिङ’ मिलेको छैन । जीएसए नियुक्त गर्न टंकनिधि दाहालको संयोजकत्वमा एउटा कमिटी गठन गरिएको भए पनि त्यो देखावटी मात्रै हो । भित्रीरुपमा करोडौं लेनदेनमा ओशाकाको जिएसए नियुक्तिको तयारी भइरहेको छ । सुरुमा प्रधानमन्त्री ओलीलाई गुमराहमा राखेर खरेलले अध्यक्ष हत्याउन सफल भए पनि उनको यो दश महिने कार्यकाल निगमको लागि ‘काल’ बन्दै आएको छ । खरेल अध्यक्ष भएपछि निगमको घाटा झण्डै चार अर्ब पुगेको छ । निगमलाई सुदृढ गर्ला कि भने आफ्नो जिल्लावासी खरेललाई ओलीले अध्यक्ष बनाए पनि अहिले आएर खरेल सरकारका लागि घाँडो बनेका छन् । बालुवाटार स्रोतका अनुसार शुक्रबार बालुवाटार पुगेका खरेललाई प्रधानमन्त्रीले हटाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्