Logo
Logo

प्रतिस्पर्धी विजयलाई रेणुको प्रश्न- तपाईंको निर्वाचन क्षेत्रमा विकास खोई ?


18.6k
Shares

चितवन । पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका मेयर पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन्– ‘तपाईंको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईंलाई थाहा छ ?’

सामान्यतया, यो प्रश्न एक उम्मेदवारले अर्को उम्मेद्वारलाई सोध्नेभन्दा मतदाताले सोध्ने प्रश्न हो । तर, भरतपुर–२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उम्मेद्वार रेनु दाहालले राप्रपा–एमाले गठबन्धनका उम्मेद्वार विजय सुवेदीलाई इङ्गित गर्दै त्यस्तो प्रश्न सोधेका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख पदमा उम्मेद्वार दिएकी दाहाल भरतपुर महानगरको प्रमुख पदबाट राजीनामा दिएर दोस्रो कार्यकालको लागि उम्मेद्वार बनेका हुन् भने सुवेदी बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखको लागि प्रत्यासी बनेका हुन् । उनी केही समय बागमती प्रदेशका सामाजिक विकास मन्त्रीसमेत भएका थिए ।

भरतपुर महानगरको विकासलाई विकास होइन भनेर सार्वजनिक समारोहमा बोल्दै हिड्ने सुवेदीलाई दाहालले निर्वाचन क्षेत्र नै किटान गरि तपाईंले आफ्नो कार्यकालमा गरेको विकास के हो भनेर प्रश्न राखेका थिए ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा २९ वडाहरुमध्ये सात वटा वडाहरु समावेश छन् । वडा नम्बर २९, १, २, ७, १०, ११, १२ सुवेदीको निर्वाचन क्षेत्रका वडाहरु हुन् । यी वडामा तपार्इंको पहलमा के कति विकास भयोे ? दाहालले सोधिन् । ‘गुरुयोजना, गुरुयोजना भन्नुहुन्छ खै कहाँ कस्ता गुरुयोजना बनाउनु भयो बितेको चार वर्षमा ?’ दाहालले सुवेदीलाई प्रश्न गरे ।

कुरामा होइन काममा विश्वास गर्न प्रतिस्पर्धीलाई अनुरोध गर्दै दाहालले भरतपुर महानगरलाई विकासको उचाइमा पुर्याउन बितेको पाँच वर्षमा प्रशस्त मात्रामा पूर्वाधार तयार भइसकेको दाबी गरे । उनले भने– ‘हामी काममा विश्वास गर्छौं, गरेर पनि देखाएका छौं । अबको पाँच वर्षमा भरतपुर दक्षिण एसियाको सुन्दर सहर बन्छ ।’

दाहालले महानगरको पहलमा ठूला–ठूला गौरवका योजनाहरु कार्यान्वयनको चरणमा रहेको पनि बताए । नारायणी र राप्ती नदीमा तटबन्धनका लागि महानगरले गुरुयोजना निर्माण गरी संघीय सरकारलाई पेश गरिसकेको उनले जानकारी दिए ।

नारायणी नदी तटबन्धनमा अहिले पाँच अर्ब रुपैयाँ बिनियोजन भइसकेको भन्दै दाहालले चार वटा प्याकेजमा गोलाघाटदेखि नारायणगढसम्म तटबन्धनको काम अगाडि बढेको पनि जानकारी गराएका छन् ।

भरतपुरको निवर्तमान मेयर दाहालले भरतपुरको विकास जनताले छर्लङ देखेको र आफुहरु बोलेर भन्दा काम गरेर देखाएर पुष्टि गरेको जिकिर गरे । अबको पाँच वर्षमा महानगरले स्मार्ट सिटीको सुचकमा पुग्ने घोषणा–पत्र निर्माण गरी निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

भरतपुरको विकासमा भएका काम केही अपवादलाई छोडेर औंला उठाउने ठाउँ समेत नभएको दाबी गर्दै उम्मेद्वार दाहालले तुक नभएका कुरा उठाउँदै नौटङ्की गर्दै हिडेकाे आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्