रुकुम । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताले रूकुम पश्चिमको एक प्रहरी चौकीमा तोडफोड गरेका छन् । उनीहरूले नुवाकोट प्रहरी चौकीमा बिहीबार तोडफोड र आक्रमण गरेका हुन् ।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेको बताइएको छ । यहाँ कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।
कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेका थिए । वाइसिएल कार्यकर्ताले उनीहरुलाई बाहिर निकाल्न भन्दै त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा ढुंगामुडा गरेका हुन् ।
बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । त्रिवेणी वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवारमा माओवादीबाट वाइसिएल जिल्ला अध्यक्ष जनक विश्वकर्मा छन् ।
बुधबार दिउँसो समेत यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो । कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार हरिबहादुर खड्का छन् । डिएसपी विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए ।
उनले भने, ‘वाइसिएल र तरूण दलबीच झडप भएको छ । तरण दलका कार्यकर्ता चौकी पुगेपछि वाइसिएलले बाहिर निकाल्न भनेका छन्। ढुंगामुडा भएको छ ।’














