दोलखा । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनले दोलखाको वैतेश्वर गाउँपालिकाका लागि संयुक्त घोषणापत्र जारी गरेको छ ।
निर्वाचनको तिव्र तयारीमा होमिएको बामगठबन्धनले निर्वाचन सम्पन्न हुन केही दिनमात्रै बाँकी रहँदा संयुक्त संकल्पपत्र जारी गरेको हो । जसमा पाँच वर्षे कार्यकालको मुख्य लक्ष्यका रुपमा आम रोजगारी सिर्जना गर्न र आर्थिक विकासका दायराहरु बढाउन सरकारी, सहकारी, निजी र सामुदायिक साझेदारी मोडेलमा पालिकास्तरीय नमुना आयोजना विकास गरिने प्रतिवद्धता उल्लेख गरिएको छ ।
साथै, आयोजनाबाट कम्तीमा ५ सय जनालाई गाउँमै दिगो रोजगारी सिर्जना गरिने तथा साझेदारी मोडेलको क्षेत्रमा ‘सरकार–समुदायको सुरक्षित लगानी, बैतेश्वरमा हेर सफल कहानी’को पहिचान बनाइने संकल्प पत्रमा उल्लेख छ ।
संकल्पपत्रमा ‘दिगो रोजगारी, राम्रो आम्दानी’लाई मुख्य मन्त्र बनाइ काम गरिने, प्रतिव्यक्ति मासिक आम्दानी ६ हजारभन्दा कम भएका परिवारलाई पाँच वर्षभित्र पूर्ण रोजगारी तथा स्वरोजगारी सिर्जना गरी गरीबीको संख्या कम्तीमा ३०५ ले घटाइने गठबन्धनले प्रतिवद्धता जनाएको छ ।
बैतेश्वरमा गठबन्धनले सरकारी, सहकारी, सामुदायिक संस्था र निजीक्षेत्रको साझेदारी रहेको कम्तीमा १ वटा पालिकास्तरीय नमुना आयोजना आरम्भ गरिने र सो आयोजनाबाट कम्तीमा ५०० जना युवाहरुलाई बहुसाझेदारी मोडेलबाट प्रत्यक्ष र संगठित रोजगारी सिर्जना गरिने भएको छ ।
घोषणा पत्रमा वडास्तरमा एक वडा, एक मध्यमस्तरीय स्वरोजगार योजना सञ्चालन गरिने, रोजगारी तथा स्वरोजगारीबाट प्रति परिवारको वार्षिक न्युनतम आम्दानी पाँच लाख पु¥याइने समेत उल्लेख छ ।
यस्तै, पर्यटन विकासको क्षेत्रमा पनि विभिन्न कार्यक्रम ल्याउनेगरी संकल्पपत्र तयार पारिएको छ । जसमा संस्कृति र प्रकृतिको आधारमा पदमार्ग तथा होमस्टेसहित १ वडा, १ पर्यटन गन्तव्य विकास गरिने, हनुमन्ते क्षेत्रलाई दक्षिण एसियाकै हनुमान पर्यटनको मुख्य गन्तव्यमा विकास गरिने, बैतेश्वरलाई सहकारी शिक्षा र पर्यटनको नयाँ गन्तव्य बनाइने लगायतका योजनाहरु मुख्य योजनाको रुपमा अघि सारिएको छ ।














