
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुर्घटनामा परे त्यसको जिम्मा गठबन्धनको विरुद्धमा लागेकाहरुले लिनुपर्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरको चितवनमा आयोजना गरेको निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा लागेकाहरुकै कारण देश दुर्घटनामा जाने खतरमा रहेको बताउँदै त्यसो अवस्था आए त्यसको जिम्मा गठबन्धन विरोधीले लिनुपर्ने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘मलाई आशंकाले हेरेर गठबबन्धन कमजोर पार्न खोज्नु भयो भन देश दुर्घटनामा पर्ने खतरा छ । त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिन्नेहरुले दिनुपर्ने छ । मत अब दायाँबायाँ गर्दिन ।’
सम्पन्न हुँदै गरेको निर्वाचनमा जित र हारको निर्वाचन मात्र नभएर व्यस्था बचाउने विषयसँग जोडिएको भन्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध मतदान गर्न समेत अपिल गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने– ‘यो निर्वाचन सामान्य जित र हारको विषय मात्र होइन । यो निर्वाचनमा प्रतिगमन पक्ष र विपक्षमा हुँदैछ । प्रतिगमनले जित्यो भने देश ठूलो दुर्घटनामा पर्छ । गठबन्धनले जित्यो भने संविधान र व्यस्थाको रक्षा हुन्छ । सबैले वितार गर्ने बेला भएको छ ।’














