
काठमाडौं । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ । मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन ।
चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो । अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तिव्रता दिने ध्याउन्नमा छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।











