पोखरा । पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखराको ल्याण्डफिल्ड साइडको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

मंगलबार पोखरा-१४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले ल्याण्डफिल्ड साइडको समस्या तत्काल समाधान गरि अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका हुन् ।
पोखरामा फोहोर व्यवस्थापनको विषय पटकपटक विवादित भइरहेको भन्दै यसको दीर्घकालिन समाधानको ठोस योजनासहित आफूहरु आएको आचार्यले बताए ।
उपयुक्त स्थानमा यसको व्यवस्थापन गरिने बताउँदै आचार्यले पोखरालाई अन्तराष्ट्रिय बजारसँग जोड्ने विमानस्थललाई यथासिघ्र संचालन गर्ने प्रतिवद्धता गरे ।
विमानस्थलको जग्गा अधिग्रहणका क्रममा मुआब्जा दिन बाँकी रहेको भए त्यसको तुरुन्तै समाधान गर्ने आचार्यको प्रतिवद्धता छ । पोखरा–१४ मा व्यवस्थित ढलको निर्माण गरि वर्षातका बेलामा हुने डुबान र कटान लगायतको समस्या प्रति पनि गठबन्धनको ध्यानाकर्षण भएको आचार्यले बताए । उनले पोखरामा रहेको भूमिहिन समस्या समाधान गर्न आफू तत्पर रहेको बताए ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका विमल कार्कीले समेत गठबन्धनका उमेदवार आचार्यलाई सघाउने प्रतिवद्धतासहित उम्मेदवारी निस्क्रिय पारेपछि गठबन्धन थप बलियो भएको उमेदवार आचार्यले बताए ।
पोखरा महानगरपालिका आफूहरुको जित सुनिश्चित रहेको बताउँदै आचार्यले गठबन्धनका उमेदवारहरुलाई निर्धक्क भएर मतदान गर्न अपिल गरे ।














