Logo
Logo
टिप्पणी

भरतपुरको परिणाममा निर्भर गठबन्धनको भविष्य



सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रित छ । पाँचदलीय गठबन्धनले गत बिहीबार भरतपुरमा आयोजना गरेको आमसभामा शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।

भरतपुरमा ०७४ सालमा पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको थियो । रेनु दाहाललाई कांग्रेसले धोका दिएकै कारण जम्मा २ सय ३ मतान्तरले मात्रै एमालेका देवीप्रसाद ज्ञवाली स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा हारेका थिए ।

कांग्रेसले उम्मेदवारी फिर्ता लिँदा पनि रुखमा ७ हजार मत खसेको थियो । कांग्रेसको ५ हजार मत आफुले पाएको ज्ञवालीले दाबी गर्ने गरेका थिए । त्यसप्रति गठबन्धन सचेत हुनुपर्छ । अब त्यस्तो अवस्था आउन दिनु हुन्न ।

भरतपुर महानगरलाई एउटा पालिकाको रुपमा मात्रै हेरिनु हुँदैन । भरतपुर नै पाँचदलीय गठबन्धन जोगिने वा भत्किने आधार हो । त्यसैले एमालेले सम्पूर्ण शक्ति भरतपुरमा केन्द्रित गरेको छ ।

भरतपुर महानगरलाई एउटा पालिकाको रुपमा मात्रै हेरिनु हुँदैन । मेयरका उम्मेदवार रेनु दाहालको हार जितको रुपमा मात्र पनि हेरिनु हुन्न । भरतपुरको जित र हारसँग पाँचदलीय गठबन्धनको भविष्य निर्भर छ ।

कांग्रेसका बागीसहित असन्तुष्ट कार्यकर्तालाई प्रलोभनमा पारिरहेको छ । त्यस्ता कुनै पनि प्रलोभनमा गठबन्धनका कार्यकर्ता फस्नु हुँदैन । कार्यकर्ताले दूरदर्शी बन्दै मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई शानदार विजयी गराएर गठबन्धनको जगलाई बलियो बनाउन लाग्नुपर्छ ।

भरतपुरमा गडबड भयो भने गठबन्धनको यात्रामा ब्रेक लाग्न सक्छ । अनि देशको यात्रा विपरित दिशातर्फ मोडिन पुग्छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएपछि माओवादी केन्द्र बिच्किएको थियो । र, एमालेसँग प्रदेश र संघीय निर्वाचनमा सहकार्य गर्न पुगेको थियो । एमाले–माओवादी गठबन्धनले दुई तिहाई मत ल्याउँदा कांग्रेस साँघुरो प्रतिपक्षीमा खुम्चिएको थियो ।

जनताले गठबन्धनलाई निर्वाचनको माध्यमबाट अनुमोदन गरेसँगै एमाले र माओवादी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । तर, २०७७ पुस ५ गते केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि नेकपा विभाजन भयो ।

एमालेबाट समेत नेता तथा कार्यकर्ताको ठूलो पंक्तिले विद्रोह गरे । माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरे । त्यही जगमा अहिले पाँचदलीय गठबन्धन बनेको छ ।

पाँचदलीय गठबन्धन पार्टीलाई जिताउनेभन्दा पनि लोकतन्त्र जोगाउन बनेको हो । त्यसैले एउटा व्यक्तिले जित–हारको प्रतिष्ठा बनाउनु हुँदैन । लोकतान्त्रिक आन्दोलनबाट आएका जगन्नाथ पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी निस्कृय बनाएर गठबन्धन जिताउने अभियानमा लाग्नुपर्छ । त्यो नै उनको राजनीतिक जित हुने छ। किनभने, उनको उम्मेदवारी आफु जित्नुभन्दा पनि गठबन्धनलाई हराउन भएको हो ।

प्रतिगमनकारीहरू गठबन्धन भत्काउन हिडेका छन् । लोकतन्त्र समाप्त पार्न हिडेका छन् । त्यो देख्दादेख्दै गठबन्धनविरुद्ध उभिने होइन, गठबन्धनलाई दह्रो बनाउन लोकतन्त्रवादीले भूमिका खेल्नुपर्छ ।

गठबन्धनविरोधी गतिविधि गर्दा लोकतन्त्र र संविधान कमजोर हुन्छ । त्यसकारण गठबन्धनलाई जिताउने प्रतिवद्धताअनुरुप कांग्रेस कार्यकर्ता हिड्नुपर्छ । अन्यथा कांग्रेसकै कारण गठबन्धन भत्किन्छ । र, देश पुनः अध्याँरो यात्रामा जान्छ ।

यो कुरालाई बुझेरै पाँचदलीय गठबन्धनले स्थानीय तहमा बलियो गठबन्धन गराएर जाने निर्णय गरेका हुन् । यसमा नाफा÷घाटाभन्दा पनि लोकतन्त्र रक्षाको प्रतिष्ठा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्