काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद दुवैमा गठबन्धनको उम्मेदवार विजयी भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको आज सम्पन्न भएको मतपरिणामअनुसार तेमाल गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डिएम) विजयी भएका हुन् ।

जसअनुसार अध्यक्षमा विजयी तामाङले सात हजार ७७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले पाँच हजार ८७० मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का थोकरले छ हजार ५५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सम्तेन थिङले चार हजार ९५२ मत प्राप्त गरेका छन् ।
पालिकाको वडामा क्रमशः वडा नं १ मा एमालेका इन्द्रबहादुर अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का देवराज तामाङले ५७७ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै वडा नं ३ मा कांग्रेसका विष्णुबहादुर तामाङले ३१७ मत, वडा नं ४ मा एमालेका पेम्बा तामाङले ४८२ मत, वडा नं ५ मा नेकपा (माओवादी केन्द्र)का हजार सिं लामाले एक हजार २१७ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)कै प्रेमबहादुर तामाङले ६६७ मत, वडा नं ७ मा नेपाली कांग्रेसका इन्द्रबहादुर तामाङले ७२२ मत, वडा नं ८ मा कांग्रेसकै तेमाल सिं तामाङले ५६६ मत र वडा नं ९ मा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर लामाले ७८० मत प्राप्त गरी विजयी भए ।
अहिलेसम्ममा काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये खानीखोला, चौँरीदेउराली र भुम्लु गाउँपालिका तथा बनेपा र मण्डनदेउपुर नगरपालिकाको मतगणना कार्यसम्पन्न भइसकेको छ ।
जसमध्ये बनेपा नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका विमला सापकोटा दाहालबाहेक अन्य मतगणना सम्पन्न भएको पालिकामा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । बाँकी पालिकाको मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।














