Logo
Logo

अधिकारीलाई बर्खास्तको तयारी



काठमाडौं । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको सिफारिसमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका युवराज अधिकारीलाई बिदाइ गर्ने तयारी पर्यटनमन्त्री प्रेम आलेले गरेका छन् । त्यसो त अधिकारीको नियुक्तिमै पार्टी सचिवालयले असन्तुष्टि जनाइसकेको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारी र महाप्रबन्धक डिमप्रकाश पौडेललाई एकैपटक अवकाश दिने तयारी मन्त्रालयले गरेको छ ।

समाचार स्रोतका अनुसार नियुक्ति हुँदा मन्त्री आले र अधिकारीबीच राम्रो सम्बन्ध भए पनि पछिल्लो समय मन्त्रीको स्वार्थबमोजिम अधिकारीले काम नगरेकोले मन्त्री आले रुष्ट भएको बताइन्छ । अधिकारीले निगम सुधारको पक्षमा केही राम्रो कामको सुरुवात गरे पनि जहाजको इन्जिन भाडामा लिँदा कमिशन विवादमा परेको आरोप छ ।

कार्यकारी अध्यक्ष अधिकारीसँग दुईपटक स्पष्टीकरण सोधिएको छ । अधिकारीले गरेका अनियमितताको छानविन गर्दै निगमलाई सुधार गर्नका लागि मन्त्रालयले सहसचिव टोकराज पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । छानवीन समितिले काममा ढिलाई गरेपछि मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले दृष्टिलाई जनाएको छ ।

मन्त्रालयको प्रवक्तासमेत रहेका सहसचिव पाण्डेले छानवीन समिति र स्पष्टिकरण फरक विषय रहेको बताए । ‘छानवीन समिति समग्र निगमको सुधारका लागि हो, स्पष्टिकरण फरक ढंगले सोधिएको छ’, उनले भने, ‘स्पष्टिकरण सोध्ने अधिकार हामीसँग छैन, सचिवज्यू वा मन्त्रीज्यूले गर्ने हो ।’

मन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताएअनुसार, निगममा भएका थुप्रै अनियमिततामा कार्यकारी अध्यक्ष अधिकारीको संलग्नताबारे सूचना प्राप्त भएपछि मन्त्रीकै निर्देशनमा स्पष्टिकरण सोधिएको हो । सहसचिव पाण्डे नेतृत्वको छानविन समितिले ती विषयमा पनि अध्ययन गर्ने उनको भनाइ छ । तर, स्थानीय तह निर्वाचनका कारण तोकिएको समयमा काम सम्पन्न नभएको सहसचिव पाण्डे बताउँछन् ।

मन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताएअनुसार, निगममा भएका थुप्रै अनियमिततामा कार्यकारी अध्यक्ष अधिकारीको संलग्नताबारे सूचना प्राप्त भएपछि मन्त्रीकै निर्देशनमा स्पष्टिकरण सोधिएको हो । सहसचिव पाण्डे नेतृत्वको छानविन समितिले ती विषयमा पनि अध्ययन गर्ने उनको भनाइ छ

अधिकारीमाथि कर्मचारीलाई कार्यालयभित्रै बन्धक बनाउने, धम्की दिनेजस्ता आरोप लागेको छ । मन्त्रालयले उक्त विषयमा पहिलो स्पष्टिकरण सोध्यो । तर, त्यसको चित्तबुझ्दो जवाफ नआएपछि फेरि अर्को स्पष्टिकरण सोधेको छ ।

पछिल्लो स्पष्टिकरणमा निगमको जहाज साउदी अरबका लागि उडान प्रारम्भ गर्दा पहिलो दिन पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतसहितका २२ जनालाई त्यहाँ पु¥याइएको विषयमा सोधिएको मन्त्रालयस्रोतले जनाएको छ । ‘कुन कानुन, नियम र निर्देशनका आधारमा यस्तो काम गरियो’, स्पष्टिकरणमा सोधिएको छ, ‘मन्त्रालय मातहतको नियकायले मन्त्रालयसँग समन्वय नगरी आफूखुशी निर्णय गर्ने अधिकार कसरी प्राप्त ग¥यो ?’

निर्वाचनलगत्तै मन्त्रालयका कर्मचारीहरु हिमाल आरोहणका लागि सम्पर्क अधिकृतका रुपमा खटिएका कारण प्राप्त जिम्मेवारी पूरा गर्न केही समय लागेको प्रवक्ता पाण्डे बताउँछन् । ‘दिइएको जिम्मेवारी छिट्टै पूरा हुन्छ’, उनले भने ।

तर, अधिकारीलाई पदमुक्त गर्ने अधिकार भने स्वयं मन्त्रीसँग मात्रै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्