Logo
Logo

सिद्धिचरण पत्रकारिता पुरस्कार फोनिजका अध्यक्ष गजुरधन राईलाई



काठमाडौं । यसबर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधन राईलाई प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाजलाई सूसूचित गर्न योगदान र्पुयाएवापत नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक एवं नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुखसमेत रहेका राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

राईसहित यो पुरस्कारबाट पत्रकार पारसमणि नेपाल र लहना मिडिया पनि पुरस्कृत भएका छन् । पत्रकार राई विगत ३० वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् ।

यसैगरी यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ । सामाजिक विकृति र विसंगति विरुद्ध आवाज उठाएर समाजलाई जागरुक गर्ने कार्य गरे वापत सिस्नुपानी नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

सिद्धिचरण श्रेष्ठको १११औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । सिस्नुपानी नेपालललाई एक लाख राशीसहित प्रमाणपत्र र पत्रकारहरुलाई जनही २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले समाज परिवर्तनका लागि सिद्धसचरण श्रेष्ठको योगदान सदा स्मरणीय रहेको बताए ।

कार्यक्रममा प्राज्ञ वैरागी काइँला, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा र स्वर्गीय सिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ लगायतका वक्ताहरुले समाज परिवर्तनको नायकत्व समकालिन कविताको माध्यमबाट सिद्धिचरण पुर्याएको योग्दानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्