Logo
Logo

हिमालय शमशेर जबरालाई जापान सरकारद्वारा उच्च श्रेणीको सम्मान


3.2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराले जापान सरकारद्वारा प्रदान गरिने उच्च श्रेणीको अवार्ड पाएका छन् ।

जबराले ‘द अर्डर अफ जापान’ अन्तर्गत ‘द अडर अफ द राइजिङ सनको ‘गोल्ड एण्ड सिल्भर’ अवार्ड पाएका हुन् । यो अवार्ड जापान सरकारले प्रदान गर्ने उच्च श्रेणीको सम्मान अन्तर्गत दोस्रा श्रेणीको सम्मान हो ।

जापान सरकारले यो अवार्ड दोस्रो विश्वयुद्धमा सहभागी सेना, अन्तर्राष्ट्रिय सम्बन्धमा विशिष्ट उपलब्धिहरू हाँसिल गरेका व्यक्ति र जापानी संस्कृतिको प्रवद्र्धन गर्नेहरुलाई प्रदान गर्दै आएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममाझ जबरालाई नेपालका लागि जापानी राजदूत युताका किकुताले अवार्ड प्रदान गरेका हुन् ।
अवार्ड ग्रहण गर्दै जबराले नेपाल राष्ट्र बैंकको गभर्नरको हैसियतमा आफूले गरेको कामवापत जापान सरकारले ‘द अर्डर अफ जापान’ प्रदान गरेको बताउँदै यो अवार्ड नेपाल राष्ट्र बैंकलाई समर्पित गर्ने बताए ।

जबराले गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खेलेका थिए । जसका कारण नेपाल–जापानको विनिमयमा सहजता पैदा हुँदा दुई देशको आर्थिक सम्बन्ध विकास भएको थियो । जबराको पालमा खोलिएको येन अकाउन्ट अहिलेसम्म पनि जापानको राष्ट्रिय बैंकमा छ ।

जबराले अवार्ड प्रदान गर्न सहयोग गर्ने विभिन्न व्यक्तिलाई धन्यवाद दिएका छन् ।

यसअघि यो अवार्ड पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्वसचिव नारायणप्रसाद अर्याल र केदारभक्त माथेमाले पनि पाएका थिए ।

जबरा, राणा प्रधानमन्त्री श्री ३ देव शमशेर जबराका पनाती हुन् । हिमालय शमशेरकै नेतृत्वमा हाल नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त बैंक ‘हिमालाय बैंक’ स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्