Logo
Logo

पूर्वाधार विकास कार्यक्रममा कर्णालीका १५ स्थानीय तह



सुर्खेत । कर्णाली प्रदेशका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी)मा छानिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र ११ गाउँपालिकालाई सो कार्यक्रमका लागि छनोट गरेको हो । मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई यही विसं २०७८ चैत २७ मा पहिलो पटक आशय पेश गर्न आह्वान गरिएकामा ५७ स्थानीय तहले आवेदन दिएका थिए ।

पेश भएका स्थानीय तहहरुको आशयपत्रको मूल्याङ्कन गर्दा उच्चत्तम अङ्क प्राप्त गर्ने ५७ स्थानीय तहमध्ये रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिका कालीकोट, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जाजरकोट, सोरु र मुगुम कार्मारोङ गाउँपालिका छनोटमा परे ।

त्यस्तै, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिका सुर्खेत, सिमकोट, खार्पुनाथ र ताँजाकोट गाउँपालिका हुम्ला, शे–फोक्सुण्डो गाउँपालिका डोल्पा, तिला गाउँपालिका जुम्ला, दुल्लु नगरपालिका दैलेख, दार्मा गाउँपालिका सल्यान पनि छनोटमा परेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । उक्त कार्यक्रम कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने र त्यसबाट पूर्वाधार विकास, जलवायु परिर्वतन, फोहरमैला व्यवस्थापनलगायतको क्षेत्रमा काम गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्