
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी थालेको छ । आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।
निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । एकै वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
आयोगले कात्तिक अन्तिम या मंसिरको पहिलो सातामा निर्वाचन उपयुक्त हुने बताउँदै आएको छ । संविधान अनुसार प्रतिनिधि/प्रदेशसभाको कार्यकाल निर्वाचन भएको मितिदेखि ५ वर्षको हुन्छ ।











