
काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या ६ पुगेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो ।
३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका छन् । यसअघि २०१८ मा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा ३१ टोलीको टुंगो लागिसकेको छ । अब अन्तरमहादेशीय प्लेअफ अन्तर्गत कोस्टारिया र न्युजिल्याण्डबीचको विजेता विश्वकपमा छनोट हुनेछ ।











