Logo
Logo

प्रधानमन्त्रीको पीडा


- दृष्टि न्युज/संवाददाता


महाभारत संसारकै सबैभन्दा ठूलो कृति हो । एक लाखभन्दा बढी श्लोक रहेको यो कृति मुख्यतः कौरव र पाण्डव परिवारबीचको द्वन्द्वमा केन्द्रित छ । यो विराट कृतिको प्रारम्भ र अन्त्य थाहा नपाए पनि हिन्दुधार्मिक परम्पराबाट आएको प्रत्येक परिवारमा कौरव र पाण्डवको चर्चा हुँदै आएको छ । यसर्थ, हिन्दुधार्मिक परम्परामा जोडिएका प्रत्येक व्यक्तिले कुरुक्षेत्रको युद्धको चर्चा सुनेका छन्, पढेका छन्, पछिल्लो समय टेलिभिजनका पर्दामा हेरेका छन् । कुरुक्षेत्रको युद्धपूर्वको अवस्थाबारे चर्चा गर्न यो सन्दर्भ उठान गरिएको छ । हामीलाई थाहा छ, कुरुक्षेत्रको युद्ध हुनुमा अनेक कारण, अनेक पात्रका भूमिका छन् । तिनैमध्येका एक हुन्, ‘सकुनी’ । उनी गान्धार राज्यका राजा थिए । सम्बन्धमा, हस्तिनापुर नरेश धृतराष्ट्रका साला । यसअर्थमा उनी दुर्योधनका मामा थिए । त्यसअघि धृतराष्ट्रका लागि कन्या (गान्धारी) माग्न भीष्म तिनै सकुनीका पिता सुबलको राज्य पुगेका थिए । धृतराष्ट्र अन्धा थिए भन्ने सत्य लुकाएर भीष्मले गान्धारी मागेका थिए । पछि यो कुराको खुलासा भएपछि धोका दिइएको ठानेर बदलाभावसहित सकुनीले पुरै कुरुवंशको सर्वनाश गर्ने प्रण लिए । त्यसैकारण उनी आफ्नो राज्यछाडेर हस्तिनापुर बसे । दुर्योधनको सल्लाहकार जस्तै बनेर उनलाई युद्धका निम्ति उक्साइरहे र अन्ततः युद्ध गराइछाडे । युद्धमा उनी स्वयम् पनि मारिए तर, कुरुवंशको विनाश भयो । उनको प्रण पूरा भयो ।

यो सन्दर्भ कोट्याउनुको कारण निहीत स्वार्थ बोकेका सल्लाहकारका खराब सल्लाह, गतिविधि र आचारणले कसरी विनाश निम्त्याउँछ भन्ने बुझाउनु हो । नेपाली राजनीति यतिबेला यस्तै अवस्थाबाट गुज्रिरहेको छ । मुलुकका प्रायः सबै संस्था सल्लाहकारहरूका अनुचित सल्लाहको मारमा परिरहेका छन् । आफूले विश्वास गरेकाहरूबाटै धोका खाइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय यस्तै पीडा भोग्न बाध्य छन् । आफ्ना विश्वसनीय सल्लाहकार मन्त्रीहरूका अनुचित क्रियाकलापका कारण प्रधानमन्त्री लज्जित हुनुपरेको छ । बदमान हुनुपरेको छ । गत २ असारको राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलपूmलको पैठारी गर्दा भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गर्न थालेको सरकार एकाएक यो निर्णयबाट पछि हट्यो । विषादी परीक्षण थालेपछि भारतले दबाब दिएका खबर आइरहेका थिए । सरकारले त्यसको बचाउ गर्दै नाकाहरूमा अवशेष परीक्षणशालाको अभाव भएकाले तत्काललाई परीक्षण स्थगित गरिएको बतायो । केही सञ्चारमाध्यमले भारतले पत्र पठाएरै दबाब दिएको समाचार लेखे । प्रधानमन्त्रीले त्यसको खण्डन गर्दै भने, ‘कहाँ आयो पत्र ? कसले पठायो पत्र ? कसले पढ्यो पत्र ?’ त्यसै दिन भारतले पठाएको पत्र सार्वजनिक भयो । भारतले परीक्षण रोक्न दबाब दिएरै पत्र पठाएको थियो । तर, त्यो लुकाइयो प्रधानमन्त्रीलाई जानकारी दिइएन । सिंगो देशसामु प्रधानमन्त्री बदनाम बन्न पुगे ।

नेकपा संसदीय दलको बैठकमा नेकपाका एक पूर्वप्रधानमन्त्रीसहित पूर्वमन्त्रीहरू र थुप्रै सांसदले विषादी परीक्षण रोकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । बैठक सकिएको केही घण्टाभित्र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा लेखे, ‘भनिन्छ, छौँडाहरू आफैँ चल्मलाउँदैनन्, कसैले छोड्छन् । यी छौँडाहरू आफैँ चल्मलाएका हुन् कि कसैले छाडेका ?’ रिमालको यो ट्विट आफ्नै पार्टीका वरिष्ठ नेताहरूमाथि लक्षित थियो । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो । यस्ता खराब व्यक्तिलाई सल्लाहकार राखेको भन्दै प्रधानमन्त्रीको पनि आलोचना भयो । तर, न रिमालले माफी मागे, न प्रधानमन्त्रीले रिमालसँग स्पष्टिकरण लिए । त्यो भन्दा अगाडि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बिबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै सरकारको आलोचना गर्नेहरुले राजतन्त्र फर्काउन खोजेको आरोप लगाए । अर्का प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले डा. गोविन्द केसीको आन्दोलन कम्युनिष्टविरोधी पश्चिमा शक्तिले उचालेको शब्द बोले । यी यस्ता परिघटना हुन्, जसले प्रधानमन्त्रीका सल्लाहकार कस्ता छन् भनेर स्पष्ट पार्छ । एकपटक होइन, सल्लाहकारको भर परेर अनेक पटक प्रधानमन्त्री ओली लज्जित हुनुपरेको छ । सार्वभौम संसद्लाई गलत सूचना दिएको, संसद्लाई ढाँटेको आरोपसमेत खेप्नु परेको छ । तर, त्यस्तै सल्लाहकारको घेराभित्र प्रधानमन्त्री ओली आफूलाई सुरक्षित महसुस गरिरहेका छन् । म गलत मान्छेको घेरामा रहेछु भन्ने उनको भ्रम कहिले टुट्छ थाहा छैन, हाम्रो कामना यत्ति छ, भ्रम टुटेको दिन कौरववंशको नाश भएजस्तै अवस्थामा प्रधानमन्त्री नपुगुन् । सरकार, पार्टी र देशको अहित नहुँदै उनको भ्रम टुटोस् ।

प्रतिक्रिया दिनुहोस्