Logo
Logo

प्रधानमन्त्रीलाई निगम डुब्ने चिन्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायुसेवा निगम डुब्ला भन्ने चिन्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ । आजभन्दा एक वर्ष अगाडि सुगतरत्न कंशाकारले विनायोजना वाइडबडी जहाज ल्याएर निगमलाई अर्बौ घाटामा पु¥याए । त्यसको सुधार गर्न मदन खरेललाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव एक जना पर्यटन व्यवसायीले ओलीसमक्ष पु¥याए । ओलीले ती पर्यटन व्यवसायीको कुरा काट्न सकेनन् र, आजभन्दा दश महिना अगाडि खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरे । यो १० महिनामा खरेलले सिन्कोसमेत भाँच्न सकेनन् । उनको असक्षमताले निगम चुर्लुम्म डुब्ने अवस्थामा पुग्यो ।

निगमलाई यो अवस्थाबाट उकास्न के गर्नुपर्ला भन्ने चिन्ता फेरि प्रधानमन्त्री ओलीले लिएका छन् । अस्ति आइतबार बेलुकी प्रधानमन्त्री ओलीले पर्यटन सचिव मोहनकृष्ण सापकोटा, सहसचिव बुद्धिसागर लामिछानेसहित कार्यकारी अध्यक्ष खरेल र निगमका केही निर्देशकहरुलाई बालुवाटार बोलाए । करिब एक घण्टासम्म निगम सुधारको विषयमा छलफल भयो । खरेलले एउटा ‘प्रिजेन्टेसन’ पनि गरे । खरेलले फेरि पनि व्यवस्थापन सुधार गर्ने, सञ्चयकोषको ऋण तिर्ने र ग्राउन्डेड जहाज उडाउने विषयमा केही कुरा बोलेनन् । उनको ‘प्रिजेन्टेसन’को सारसंक्षेप निगम जोगाउने हो भने २० अर्ब दिनुप¥यो भन्नेमै केन्द्रित थियो । दिनभर युवा परिषद्को कार्यक्रम र बेलुकी फ्रेन्च दूतावासको पार्टीमा सहभागी भएर थाकेका प्रधानमन्त्री ओली खरेलको कुरा सुनेर थप थकित बनेका थिए । प्रधानमन्त्री ओलीले जापानको उड्यानका विषयमा सामान्य प्रश्नमात्रै गरे र बैठक टुंगियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार खरेलसँग प्रधानमन्त्री असन्तुष्ट छन् । उनको विकल्पको खोजी प्रधानमन्त्रीले गरिरहेका छन् । त्यसैले यसबीच पटक–पटक खरेलले प्रधानमन्त्री भेट्न खोज्दासमेत ओलीले समय दिएका थिएनन् । तर, खरेलका कारण निगम डुब्यो भने त्यसको अपजसको भारी आफूले बोक्नुपर्ला भन्ने चिन्ता प्रधानमन्त्री ओलीले लिइरहेका छन् । त्यसैका लागि पर्यटन मन्त्रालयसमेत सम्हालेका ओलीले खरेललाई बोलाएर उनको योजना सुनेका हुन् । निगमको व्यवस्थापन सुधार नगरेसम्म सरकारले एक पैसा पनि ऋण नदिने कुरा त ओलीले निगमको वार्षिकोत्सवमै भनेका थिए । तर पनि नियुक्ति भएर निगम छिरेदेखि आजसम्म खरेलले २० अर्बकै कुरा मात्र गरिरहेका छन् । निगमको व्यवस्थापन सुधारको सोच, योजना उनमा छैन । हुँदाहुँदा अब त निगमको आधिकारिक ट्रेड युनियन खरेलको विरुद्ध आन्दोलनको तयारीमा रहेको छ । यसले गर्दा पनि खरेलको दिनगन्ती सुरु भएको निगम कर्मचारीहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको चाहना जापानको नारिता हो । नारिता उडाउन निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारले २०७५ साउन २० गते जीएसए नियुक्तिको कामसमेत टुंग्याएका थिए । त्यतिबेला जिएसए नियुक्त गरेको भए नारिता उड्यान नौ महिना अगाडि भइसक्थ्यो । तर, खरेल आएपछि उनले ओशाका उडाउने योजना बनाए । जुन १९ तारिखदेखि ओशाका उडाउने सूचना पनि बाहिर आयो । तर, ओशाका पनि भनेको समयमा उड्यान भएन र अगस्त २९ तारिखदेखि उडाउने भनियो । ओशाका उड्यान अगस्त २९ तारिखमा भएन भने जेक्यावले निगमलाई कालोसूचीमा राख्ने प्रवल सम्भावना छ । यस विषयमा एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनले खरेललाई जानकारी गराइसकेका छन् । यसबीच असार १९ गते हिराचन र खरेलबीच वार्ता पनि भएको छ । हिराचनले चार बुँदे प्रस्ताव खरेललाई दिएका छन् । तर, खरेलले हिराचनको ठाउँमा अर्कै व्यक्तिलाई जीएसए दिने तयारी गरेकाले उनी अनिर्णयको बन्दी बनेका छन् । जीएसएको टुंगो नलागेसम्म ओशाका उडान पनि अनिश्चित बन्दै गएको छ । आफैँ निगमले नारिता उडाउन गरेको अन्तिम तयारीलाई कार्यान्वयन गर्न नसक्ने व्यवस्थापनले अन्य क्षेत्रमा उडान गर्ला र नाफा कमाउला भनेर सोच्नु मुर्खता हुनेछ । त्यसैले प्रधानमन्त्री ओलीले समयमै ध्यान पु¥याएनन् र खरेलबाटै निगम सुधार हुन्छ भन्ने भ्रम पाल्न थाले भने अबको केही महिनामा निगम कर्मचारी सञ्चयकोषको सावाँ, ब्याज त के तलब पनि खुवाउन नसक्ने अवस्थामा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्