Logo
Logo

‘गोल्ड मेडल’को धन्दामा नोबेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । त्रिभुवन विश्वबिद्यालयमा फेल भएकालाई पास गराउने धन्दा कुनै नयाँ विषय होइन । त्यहाँ गोल्ड मेडलसमेत खरिद–बिक्री हुने गरेको खुल्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडल खरिद बिक्रीमा संलग्न तीन जनाविरुद्ध मुद्दासमेत दायर गरिसकेको छ । तर, आयोगले फितलो अनुसन्धान गरी गिरोहका धेरै व्यक्तिहरुलाई उन्मुक्ति दिएको छ ।

देशका विभिन्न क्षेत्रमा विचौलियाको काम गर्ने सुरेन्द्र कोइरालाले डेढ लाख रुपैयाँमा गोल्ड मेडल किनेका थिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यले नम्बर थपेर उनलाई ७२ प्रतिशत आउने गरी गोल्डमेडलिष्ट बनाइदिएका थिए । त्यस्तै कोइरालाले आफ्ना साथी केदार भट्टराईलाई समेत प्रथम श्रेणीमा उत्तीर्ण गराइदिएका थिए ।

अनुसन्धानका क्रममा त्रिविमा वर्षाैदेखि यस्तो धन्दा हुँदै आएको संकेत मिलेको थियो । तर, आयोगले त्यसतर्फ विस्तृत अनुसन्धान गरेन । बिचौलिया रहेका कोइराला २०७० सालदेखि नै नियमित जसो परीक्षा नियन्त्रण कार्यालय जाने गर्दथे । त्यसैगरी फेल भएकालाई पास गराउने र उत्कृष्ट नम्बर ल्याउनका लागि उनले यस्तो काम गर्दै आएका थिए । यसमा उनको गिरोह नै संलग्न थियो ।

स्रोतका अनुसार यस्तो गिरोहमा नोबेल कलेज सिनामंगलका प्रिन्सिपल नवराज पाण्डेको समेत संलग्नता थियो । आयोगले उनलाई समेत बयानमा बोलाएको थियो, तर पर्याप्त प्रमाण नपुगेको भन्दै विस्तृत अनुसन्धान नगरी छाडिदिएको छ । पाण्डे र कोइराला साथी भएको र उनीहरु मिलेर यस्तो काम गर्दै आएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी कर्मचारीलाई नोबेल कलेजमा बिहानको सिफ्टमा पार्टटाइम जागिर नै दिइएको थियो । त्यहीकारण उनीहरु मिलेर फेल भएकालाई पास गराउनेदेखि नम्बर थपेर गोल्ड मेडल दिनेसम्मका काम गर्दै आएका थिए । यसरी वर्षाैसम्म एकजना मात्र कर्मचारीको संलग्नतामा नम्बर बढाउने काम सम्भव नै छैन । तर, आयोगले अन्य कर्मचारीहरुलाई उन्मुक्ति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्