Logo
Logo

संकीर्ण सोचले न पार्टी चल्छ, न त सरकारनै-अष्टलक्ष्मी शाक्य


- दृष्टि न्युज/संवाददाता


पार्टी एकतापछि यहाँहरूको पार्टीको नेतृत्वमा सरकार छ । तर, सरकारप्रतिको विश्वास निराशामा बदलिँदै गएको देखिन्छ । यहाँलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
यहाँले ठीकै कुरा गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले सबैभन्दा धेरै विश्वास गरेको बेला हो यो । दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु इतिहासको आवश्यकता थियो र त्यो दिशामा हामी अघि बढ्यौँ पनि, त्यसलाई जनताको ठूलो हिस्साले सहर्ष अनुमोदन ग¥यो । र, आफ्नो सन्ततिको र देशको भविष्य बनाउने जिम्मा हाम्रो पार्टीलाई दिए । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि नेकपाको बर्चश्व कायम भयो । यस्तो सुनौलो अवसर न हिजो थियो, न पछि आउँछ । यो खालको वातावरण अहिले छ । तर, हाम्रो नेतृत्वको सरकारले यो जनभावनालाई बुझेको देखिएन । जनताप्रति जवाफदेही बन्नुपर्ने, समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा पूरा गर्न जसरी योजना बनाउनुपर्ने हो, जसरी चुस्तदुरुस्त कार्यसम्पादन गर्नुपर्ने हो, त्यसको अभाव देखिन्छ । यसले गर्दा जनतामा गुनासो बढेको छ ।

अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

आफ्नो मात्रै विचारले, आफ्नो मात्रै सोचले सबै काम गर्न सक्छु भन्ने भ्रमबाट नेतृत्व मुक्त नहुँदा, सामूहिकतामा विश्वास नगर्दा, सबैसँग छलफल गरेर सबैका सुझाब लिएर अगाडि नबढ्दा यो अवस्था आएको हो ।

प्रधानमन्त्रीको सुन्ने हो भने त सबै राम्रो हुँदैछ । सरकारले हरेक दिन नयाँ–नयाँ पाइला चाल्दैछ भनेर उहाँ दावी गरिरहनुभएको छ नि ?
प्रधानमन्त्रीका कुरा बुझिसाध्य नै छैन । उहाँका कुरा सुन्ने हो भने तपाईंले भनेजस्तै मुलुक विकास र समृद्धितिरै हिँड्दैछ कि भन्ने लाग्छ । तर, व्यवहारमा हेर्दा फेरि त्यस्तो देखिँदैन । प्रधानमन्त्रीका कुरा सुन्छु, यो पनि गर्ने, त्यो पनि गर्ने, साना योजना पनि, ठूला योजना पनि अघि सारेकोजस्तो देखिन्छ । तर, ती पूरा हुँदैनन्, बदलिरहन्छन् । एउटा काम पूरा नहुँदै, एउटा बाचा कार्यान्वयनमा नजाँदै उहाँ अर्को बाचा गर्नुहुन्छ । भर्खरैको कुरा गर्नुहुन्छ भने, विषादीमा सरकारले के गरेको ? सरकारको क्षमता, हैसियतअनुसार यति काम गर्न सकिन्छ भनेर पहिले नै जनतालाई स्पष्ट पारेर अगाडि बढ्नुपर्नेमा हामी सबै थोक गर्न सक्छौँ भनेजसरी प्रचार गरियो । परिणाम के आयो ? पूर्वतयारी नगर्दा सरकार पछाडि हट्नुप¥यो । विरोधी पार्टीले आलोचना गर्ने मौका पाए । सरकारमाथि विश्वास राखेका जनतामा पनि अविश्वास बढायो । सरकार गम्भीर र जवाफदेही बन्न सकेन भन्ने मलाई लाग्छ । यसैकारण सरकार र स्वयम् उहाँप्रति विश्वास गुम्दै गएको छ ।

सरकारले अपेक्षाकृत काम गर्न नसक्नुको कारण के देख्नुहुन्छ ?
मूलतः यो एक्ला एक्लै हिँड्न खोज्दाको परिणाम हो । आफ्नो मात्रै विचारले, आफ्नो मात्रै सोचले सबै काम गर्न सक्छु भन्ने भ्रमबाट नेतृत्व मुक्त नहुँदा, सामूहिकतामा विश्वास नगर्दा, सबैसँग छलफल गरेर सबैका सुझाब लिएर अगाडि नबढ्दा यो अवस्था आएको हो । हामीले समाजवादको महान् लक्ष्य लिएका छौँ । संविधानले ठूलो बाटो खुलाइदिएको छ । जनताले यत्रो अवसर दिएका छन् । यस्तो बेलामा त्यो महान् लक्ष्य प्राप्ति गर्न सबैसँग सल्लाह गर्ने, विमर्श गर्ने, सबैका सल्लाहसुझाब लिएर निर्णय प्रक्रियामा पुग्ने काम गर्नुपथ्र्यो । त्यो वातावरण नै बनेन । यसमा सुधार नल्याउने हो भने अवस्था योभन्दा बिग्रँदै जान्छ ।

यहाँले सामूहिकताको कुरा उठाउनुभयो । पार्टीकै बैठक बस्न छाडेको छ । पार्टीमै सामूहिक कार्यशैली हराएको छ भने सरकारबाट यो अपेक्षा उचित होला ?
यो गम्भीर कमजोरी हो । कम्युनिष्ट पार्टी भनेकै विचार, विधि–पद्धति, सांगठनिक प्रणालीबाट चल्ने हो । हामी अहिलेसम्म त्यही प्रणाली पछ्याउँदै यहाँसम्म आएका हौँ । तर, अहिले यो सबै भत्किएको अवस्था छ । पार्टीका बैठकहरू नै बस्न सकेका छैनन् । सचिवालयको बैठक बेला–बेलामा बस्छ, व्यवस्थित देखिँदैन । स्थायी कमिटीको बैठक त बस्नै सकेको छैन । स्थायी कमिटी भनेको विविधखालका क्षमता भएका, पार्टीका दोस्रो तहका नेताहरू भएको कमिटी हो । त्यस्तो कमिटीको बैठक नै बस्दैन । स्थायी कमिटीको बैठक नियमित बसेर सरकारका कामकारबाहीबारे मूल्यांकन गर्ने, सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गर्ने, ती मूल्यांकन र सुझाब–सल्लाहका आधारमा सरकार चलाउन खोजिएको मात्रै भए पनि यति धेरै कमीकमजोरी हुने थिएन । सरकारले स्वभाविक गति लिइसकेको हुन्थ्यो भन्ने मलाई लाग्छ ।

कम्युनिष्ट पार्टी भनेकै विचार, विधि–पद्धति, सांगठनिक प्रणालीबाट चल्ने हो । तर, अहिले यो सबै भत्किएको अवस्था छ । अहिले सरकार एकातिर, पार्टी अर्कोतिर छ । सरकारको अनुभूति नै पार्टीले गर्न सकेको छैन ।

भनेपछि, अहिले सरकार र पार्टीबीच तालमेल छैन ?
हुन तः एउटै पार्टी हो, एउटै नेतृत्व हो । तिनै नेतृत्वले सरकार चलाएका छन् । यसरी हेर्दा सिंगो पार्टीले एक स्वरमा सरकारको बचाउ गर्नुपर्ने हो । सरकारका हरेक कामको स्वामित्व र जिम्मेवारी लिनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । किनभने अहिले सरकार एकातिर, पार्टी अर्कोतिर छ । सरकारको अनुभूति नै पार्टीले गर्न सकेको छैन । सरकारले के काम गर्न खोजिरहेको छ भन्ने कुरा पार्टीलाई जानकारी हुँदैन, पत्रपत्रिकाबाट जानकारी पाइन्छ । पार्टी कमिटीहरूबाट सल्लाह सुझाब नलिएपछि पार्टीले त्यसको जिम्मेवारी ग्रहण गर्न पनि सकेको छैन । हामीले सरकारको बचाउ गर्न सकेका छैनौँ । सरकारले यो काम गर्न खोजेको हो, यो काम राम्रो हो भनेर भन्न सकेका छैनौँ । यो अवस्था फेर्नैपर्दछ । सच्याउनै पर्दछ । किनभने सरकार र पार्टी नङ र मासुजस्तै हो । सरकार पार्टीको निर्देशन, नियन्त्रणबाट बेलगाम हुन हुँदैन । त्यसमाथि कम्युनिष्ट पार्टीको सरकार त सामूहिकता नेतृत्व, विधि, प्रक्रिया, पद्धति मिचेर हिँड्नै हुँदैन । सरकारको काम गर्ने ढंग, शैली नबदल्ने हो भने त्यसले हामीलाई दुर्घटनातिर लैजान्छ । सरकारले राम्रो काम सोचेकै छैन, योजना बनाएकै छैन, भिजन लिएकै छैन भन्ने मलाई लाग्दैन । तर, त्यसको कार्यान्वयनका लागि संरचनागत हिसावले सल्लाह सुझाब लिने, छलफल गर्ने र निर्णय लिने, प्रणालीगत हिसावले जाने, पार्टीबाट निर्देशित भएर सरकार चल्ने खालको परिपार्टी पहिला थियो । म आफैँलाई पनि महसुस छ, म पहिला राजकीय मामिला विभागको प्रमुख थिएँ । कमरेड झलनाथ खनाल प्रधानमन्त्री हुनुहुन्थ्यो । सरकारले विभिन्न ठाउँमा नियुक्तिहरू गर्दा राजकीय मामिला विभागसँग अनिवार्य सल्लाह लिइन्थ्यो । सरकारले नियुक्त गर्न खोजेको व्यक्तिले विभागलाई फेस गर्नुपथ्र्यो । त्यस्ता व्यक्तिको भिजन, योजनाबारे छलफल हुन्थ्यो । प्रतिबद्धता लिइन्थ्यो । त्यसपछि नियुक्ति हुन्थ्यो । तर, अहिले ? को कहाँ नियुक्त भए भन्ने कुरा पत्रिका पढेर मात्र पार्टीले थाहा पाउने अवस्था बन्यो । नियुक्तिको विषयमा कुनै छलफल हुँदैन । तिनको विज्ञता, क्षमता हेरिँदैन । पहुँचको आधारमा, अझ सुनिन्छ, लेनदेनको आधारमा नियुक्तिहरू भइरहेका छन् । यस्तो भए पनि हुन्छ के ? पैसा खुवाएर नियुक्ति भएकाहरूले देश र जनताको हितमा कसरी काम गर्छन् ? यत्रो बलियो सरकार हुँदा यस्तो अवस्था आउनुहुन्छ ? तर, भइरहेको छ । यस्तो विचित्रको अवस्था बनेको छ ।

प्रधानमन्त्रीका कुरा बुझिसाध्य नै छैन । उहाँका कुरा सुन्ने हो भने तपाईंले भनेजस्तै मुलुक विकास र समृद्धितिरै हिँड्दैछ कि भन्ने लाग्छ ।

यहाँले व्यक्त गरेजस्तै असन्तोष अधिकांश नेताले व्यक्त गरिरहनुभएको छ । अब पार्टी नेतृत्व सच्याउनै नसकिने अवस्थामा पुग्न लागिएको हो ?
मलाई त्यस्तो लाग्दैन । हामी निराश हुनु हुँदैन । जनतालाई निराश बन्न दिनु हुँदैन । गर्ने हामीले नै हो । जनता र यो देशको भविष्य नेपाल कम्युनिष्ट पार्टीले नै निर्माण गर्ने हो । भलै अहिले असहजता देखिएको छ । तर, सधैँ यो असहजता रहँदैन । किनभने कम्युनिष्ट पार्टीको लामो इतिहास हेर्नुभयो भने, कहिल्यै यस्तो भद्रगोलमा पार्टी चलेको छैन । इतिहास हेर्नुहुन्छ भने कम्युनिष्ट पार्टी संस्थागत प्रणालीअनुसार नै चलेको देख्नुहुन्छ । कम्युनिष्ट पार्टी सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी अनुसार नै चल्ने हो । अहिले सामूहिक नेतृत्व कमजोर भएको छ । सिथिल भएको छ । निष्कृय भएको छ । एकहदसम्म तहसनहस भएको छ भन्न सक्नुहुन्छ । यो अवस्था ल्याएको मूलनेतृत्वले नै हो । यो अवस्था तोड्नैपर्दछ । यो बेथिति सच्चिनैपर्दछ । कम्युनिष्ट पार्टीले प्राप्त गरेको यत्रो ठूलो अवसरलाई खेरजान दिनु हुँदैन । त्यसैले अहिले पनि हामी नेतृत्वसँग बैठकको माग गरिरहेका छौँ । तर, मूलनेतृत्वले राख्नुपर्ने बैठक हामीले राखेर भएन । बैठक बोलाइँदैन र बेथिति सच्याइँदैन भने ठूलो घाटा हुन्छ । यहाँ व्यक्तिको घाटाको कुनै अर्थ छैन, मूल्य छैन । घाटा मुलुकलाई नहोस्, पार्टीलाई नहोस्, समग्र कम्युनिष्ट आन्दोलनलाई नहोस् भन्ने हाम्रो चिन्ता छ । हामीसँग यतिबेला सिंगो देशका जनताको आकांक्षा जोडिएको छ । सुखी र समृद्धिको सपना जोडिएको छ । हामी असफल भए देश दशकौं पछाडि पर्छ । त्यसैले हामीले लगातार नेतृत्वलाई कमजोरी सच्याउन, नियमित बैठक राख्न र पार्टी तथा सरकारलाई विधि, पद्धति, प्रणालीमा चलाउन झकझक्याइरहेका छौँ । हामी सच्याउनै नसकिने अवस्थामा पुगेका छैनौँ । सच्चिन्छ भन्नेमा म आशावादी छु ।

आफ्नै पार्टीको ठूलो विरोधको सामना गर्नुपर्छ भन्ने मनोदशाका कारण पो पार्टीका बैठकहरू नराखिएका हुन् कि ?
त्यसो होजस्तो मलाई लाग्दैन । हो भने त्यो नकारात्मक बुझाइ मात्र हो । किनभने, हामीले कुनै गारो कुरा, गह्रुँगो कुरा उठाएका छैनौँ । हामीले भनेको यति मात्र हो, जनताले हाम्रो पार्टीमाथि देखाएको यत्रो ठूलो भरोसा खेर जान नदिऔँ । जनचाहनाअनुसार सरकार चलोस् । सरकारका काम प्रभावकारी हुन् । सरकारमा हुनेहरूको नैतिक आचरण उदाहरणीय बनोस् । पार्टीलाई विधि, पद्धति, प्रणालीअनुसार चलाइयोस् । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको मान्यता नभत्कियोस् । यति भएपछि पार्टीमाथि जनताको भरोसा कायमै रहन्छ । सरकारले गति लिन्छ । जनताका अपेक्षा सरकारले पूरा गर्न सक्छ । पार्टी र सरकार दुवै सफल हुन्छ । यत्ति भनेको न हो । यतिभन्दा कोही डराउनु किन पर्छ ? सत्तामा बस्नेले इमान्दार भएर, जवाफदेही भएर आफ्नो दायित्व पूरा गर्ने, नैतिक धरातल कमजोर हुन नदिने, सामूहिकताको भाव अंगिकार गरेर काम गर्ने गरे सरकार किन डराउनुप¥यो । हामी पहिलोपटक सरकार बनाइरहेका छैनौँ कि अलमल होस् । हामीले आफ्नै नेतृत्वमा पनि पटकपटक सरकार चलाएका छौँ । अरुको नेतृत्वको सरकारमा पनि सहभागी भएर काम गरेका छौँ । एकपटक भरतमोहन कमरेड उपप्रधानमन्त्री हुँदा उहाँ (भरतमोहन अधिकारी)को नेतृत्वमा हामी सरकारमा सहभागी थियौँ । मलाई याद छ, त्यसबेला मन्त्रिपरिषद्का हरेक बैठकअघि हामी सबै मन्त्रीहरू एकठाउँमा बस्थ्यौँ र मन्त्रिपरिषद्मा कसरी प्रस्तुत हुने भनेर छलफल गथ्र्यौं । आआफ्ना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा पेश हुन लागेका प्रस्तावमाथि अध्ययन गथ्र्यौं, छलफल गथ्र्यौं । सरकारलाई प्रभावकारी बनाउन, आफ्ना मन्त्रालयका कामलाई प्रभावकारी बनाउन त्यसो गरिन्थ्यो । तर, अहिले त मन्त्रिपरिषद्मै पनि राम्रो छलफल नभई कयौँ प्रस्ताव पारित भएको सुनिन्छ । मन्त्री–मन्त्रीबीच, प्रधानमन्त्री–मन्त्रीहरूबीच त्यस्तो गहन छलफल भएको सुनिँदैन । प्रधानमन्त्री र मन्त्रीबीच सिधा पहुँचसमेत छैन पो सुनिन्छ । मन्त्रीले कयौँ दिनसम्म पनि प्रधानमन्त्रीसँग भेट्ने समय पाउँदैनन् भन्ने खबर सञ्चारमाध्यममा आउने गरेका छन् । प्रधानमन्त्रीको सचिवालयबाट मन्त्रीका काममा समेत हस्तक्षेप हुने गरेको सुनिन्छ । मन्त्रालय–मन्त्रालयबीच तालमेल देखिँदैन । भारतीय दूतावासले पठाएको पत्रले निकालेको विवाद देखिहाल्नुभयो । कोही जवाफदेही छैन । प्रधानमन्त्रीलाई जानकारीसम्म दिइएको छैन । बिहानै समाचारमा यस्तो कुरा सुन्दा पढ्दा एउटा नेताका रूपमा कति शर्म लाग्दा भन्नुस् त ? यस्तो शक्तिशाली पार्टी सरकारमा भइरहेका बेला यस्तो बेथिति हुनुहुन्थ्यो ? कसका कारण यो अवस्था आयो ? जसले जिम्मा लियो, ऊ यो अवस्थाको जवाफदेही हुनुपर्दैन ? अनि यस्ता कुरा बैठकमा उठ्लान् भनेर जवाफ नै नदिई भाग्न मिल्छ ? बैठक नै नराख्न मिल्छ ? मिल्दैन । भाग्न मिल्दैन । सच्चिन मिल्छ । कमजोरी सुधार गर्न मिल्छ । त्यसदिशामा हिँड्नुपर्छ । प्रधानमन्त्री, मन्त्री हुनु भनेको ठूलो कुरा होइन । तर, त्यो ठाउँमा बसेर बाचा गरेअनुसार जनताको हितमा, देशको हितमा काम गर्न सकेँ कि सकिनँ भनेर आत्मसमीक्षा गर्नुप¥यो । हामी पनि निराश हुने होइन, सरकार र पार्टीलाई सही दिशामा हिँडाउन बल दिने हो ।

चुनावमा जनताले व्यक्तिलाई होइन, पार्टीलाई जिताएको हो । यस्तो संकीर्ण सोचले न पार्टी चल्छ, न सरकार चल्छ । समस्या यहीँदेखिएको छ । संकीर्ण सोच राखेर, गुटको भरमा पार्टी र सरकार चलाउन खोजेर सफल हुने म सम्भावना देख्दिनँ । प्रधानमन्त्रीले आफूसँगै आफ्नो टिमका सदस्यले के गरिरहेका छन् भन्ने पनि ख्याल गर्नुपर्छ । प्रमुख राजनीतिक सल्लाहकारका कतिपय भनाइ र लेखाइले प्रधानमन्त्रीको समेत आलोचना हुने गरेको छ ।

कतिपयले पार्टी अलग हो, सरकार अलग हो । जनताले पाँच वर्ष काम गर्ने जिम्मेवारी दिएपछि प्रधानमन्त्रीले आफ्नै शैलीमा सरकार चलाउनुहुन्छ भनेको पनि सुनिन्छ नि ?
यो संकीर्णता हो । चुनावमा जनताले व्यक्तिलाई होइन, पार्टीलाई जिताएको हो । यस्तो संकीर्ण सोचले न पार्टी चल्छ, न सरकार चल्छ । समस्या यहीँदेखिएको छ । संकीर्ण सोच राखेर, गुटको भरमा पार्टी र सरकार चलाउन खोजेर सफल हुने म सम्भावना देख्दिनँ । तपाईंले भनेका ती कतिपयहरूले भनेजस्तो प्रधानमन्त्री एक्लैले, आफ्नै चिन्तन र शैलीले मात्र चल्थ्यो भने सरकारमाथि यति धेरै प्रश्न किन उठेका त ? सरकार किन गतिहीन भयो भन्नुपरेको ? किनभने त्यो गलत हो । एक्लै हिँडेर समाजवादको यात्रा पूरा गर्न सम्भव छैन । प्रधानमन्त्री स्वयम्देखि मन्त्रीहरू, प्रधानमन्त्रीको सचिवालयमा रहेका सदस्यहरूले पनि संकीर्णता त्याग्नुपर्छ । त्यो जिम्मेवारीमा बसेर जथाभावी बोलेको छ, लेखेको छ, नैतिकताको ख्याल छैन, इमान्दार बनिँदैन भने सफल बन्न सकिँदैन । प्रधानमन्त्रीले आफूसँगै आफ्नो टिमका सदस्यले के गरिरहेका छन् भन्ने पनि ख्याल गर्नुपर्छ । प्रमुख राजनीतिक सल्लाहकारका कतिपय भनाइ र लेखाइले प्रधानमन्त्रीको समेत आलोचना हुने गरेको छ । तर, उहाँलाई यसमा ख्याल छैन ।

को कहाँ नियुक्त भए भन्ने कुरा पत्रिका पढेर मात्र पार्टीले थाहा पाउने अवस्था बन्यो । अझ सुनिन्छ, लेनदेनको आधारमा नियुक्तिहरू भइरहेका छन् । यस्तो भए पनि हुन्छ के ? पैसा खुवाएर नियुक्ति भएकाहरूले देश र जनताको हितमा कसरी काम गर्छन् ?

लगातारको राजनीतिक संघर्षपछि हामी यो ठाउँमा आइपुगेका छौँ । यतिठूलो बलिदान यो बेथितिकै लागि थियो त भन्ने प्रश्न पनि उठ्न थालेको छ । हामी कहाँनेर चुकिरहेका छौँ ?
तपाईंले भनेजस्तै धेरै ठूलो संघर्षपछि हामी यो अवस्थामा आएका हौँ । जहानियाँ राणाशासन, निरंकुश पञ्चायत, राजतन्त्र फल्दै हामी समाजवाद उन्मुख संविधान निर्माण गर्न सफल भयौँ । व्यवस्था परिवर्तनको दृष्टिले हेर्दा निकै ठूलो उथलपुथल ल्यायौँ । तर, हामीभित्र रहेको सामन्ती चिन्तन हटाउन सकेका रहेनछौँ । निरंकुश चिन्तन र शैली, एकतन्त्रीय सोच फल्न सकेनछौँ । खास गरेर पार्टी र सरकारको नेतृत्वहरूले आफूभित्रको सामन्ती चरित्र नफालेसम्म, निरंकुश शैली र चिन्तनबाट मुक्त नभएसम्म, एकतन्त्रीय सोच नत्यागेसम्म देखा पर्ने भनेको यस्तै समस्या हो । हिजोको सामन्ती, निरंकुशताको छायाँ अहिले झल्किरहेको छ । सुविधाभोगी चिन्तन कायमै छ । ऐसआरामको जिन्दगीतिर लम्किरहेकै छौँ । लेनदेन, समूहगत रूपमा सुरक्षित भएर बस्ने त्यही सामन्ती चिन्तन अहिले पनि हामी अंगिकार गरिरहेका छौँ । सामन्ती राजतन्त्र र निरंकुशता हामीले हटायौँ भनिरहँदा आफूभित्र रहेको सामन्ती, निरंकुश, एकतन्त्रीय चिन्तन र सोच फाल्ने कि नफाल्ने ? यो गम्भीर प्रश्नको उत्तर खोज्नतिर हामी लागेनौँ । हामी यहाँनेर नै चुक्यौँ भन्ने लाग्छ । अब यसभन्दा अघि जान हामी प्रत्येक आफूभित्र लोकतान्त्रिक सोच विकास गर्नैपर्दछ । यसको विकल्प छैन । हामीले आफूलाई सुसंस्कृत नबनाएसम्म, नयाँ आचरणको विकास नगरेसम्म समाजवादको नेतृत्व गर्नैसक्दैनौँ । वास्तवमा अब हामीले ठूलो वैचारिक संघर्ष सुरु गर्नैपर्दछ । हामीले जनमुखी सोच विकास गर्नैपर्छ । कमजोर बन्दै गएको नैतिक धरातल बलियो बनाउनैपर्छ । सबै मैले मात्र पाउनुपर्छ, मैले मात्रै लिनुपर्छ । एउटा सामान्य असल मान्छे बन्न त नैतिक धरातल चाहिन्छ भने कम्युनिष्ट सिद्धान्त बोकेको मान्छेले आफ्नो नैतिक धरातल बलियो बनाउनुपर्दैन ? यो सम्पूर्ण कुरा अहिले समाप्त भएर जाँदैछ । अहिले पनि जनताको हालत उस्तै छ । दुःख छ, कष्ट छ, अभाव छ, सबैखाले पीडाका बाबजुद आशा–भरोसा लिएरै बसेका छन् । सरकारलाई काम गर्न जनताले कहीँ अप्ठेरो पारेको छैन । तर, हाम्रो हालत यस्तो छ । अब ढिला गर्नुहुँदैन । हामीले आफूलाई बदल्नैपर्छ । जनमुखी सोच, सेवामुखी सोच बोक्नैपर्छ । तब मात्रै हामीले देशको समृद्धि र विकासलाई अगाडि बढाउन सक्छौँ । यतिबेला मलाई कमरेड मदन (जननेता मदन भण्डारी)को स्मरण आउँछ । कमरेड मदन भन्नुहुन्थ्यो, ‘कुनै पनि मान्छेको नैतिक धरातल जाँच्ने हो भने उसलाई अवसरको थुप्रोभित्र राखिदिनुपर्छ । जहाँ सुखसुविधा, ऐसआराम होस्, लेनदेन होस्, आर्थिक कारोबार होस्, शासनको अवसर होस्, शोषणको अवसर होस् । त्यहाँबाट फर्किंदा ऊ पहिलेजस्तै भएर निस्कियो भने ऊ साँच्चिकै कम्युनिष्ट रहेछ भन्ने बुझ्नु, फेरिएछ भने कम्युनिष्टको खोला मात्र ओढेको रहेछ भनेर जान्नु ।’ यो नैतिकताको कशी सबैमा लागू हुन्छ । हामी धेरैजसो अवसरको त्यो थुप्रोभित्र प्रवेश गरिसकेका छौँ । निस्कँदा हामी के रह्यौँ । पुरानै अवस्थामा कि खोल मात्र ओढेको कम्युनिष्ट जस्तो बन्यौँ ? अहिले पनि धेरै साथीहरू सरकारमा हुनुहुन्छ । सत्ताका विभिन्न अंगमा पुग्नुभएको छ । सत्ता भनेको सबैखाले सुविधा भोग गर्न सकिने ठाउँ हो । त्यहाँ रहँदा के गरिरहनुभएको छ ? नैतिकताको धरालत बचाउनुभएको छ कि छैन ? देश र जनताको पक्षमा काम गरिरहनुभएको छ कि छैन ? जनतालाई परिवर्तनको अनुभूति दिलाउन सक्नुभएको छ कि छैन ? न्यायको अनुभूति गराउन सक्नुभएको छ कि छैन ? कमरेड मदन भण्डारीले भनेजस्तो कसीमा खरो उत्रनुभएको छ कि छैन ? यो कुराले हाम्रो पार्टीको पनि आगामी भविष्य निर्धारण गर्छ ।

प्रधानमन्त्रीको सचिवालयबाट मन्त्रीका काममा समेत हस्तक्षेप हुने गरेको सुनिन्छ । मन्त्रालय–मन्त्रालयबीच तालमेल देखिँदैन । भारतीय दूतावासले पठाएको पत्रले निकालेको विवाद देखिहाल्नुभयो । प्रधानमन्त्री, मन्त्री हुनु भनेको ठूलो कुरा होइन । तर, त्यो ठाउँमा बसेर बाचा गरेअनुसार जनताको हितमा, देशको हितमा काम गर्न सकेँ कि सकिनँ भनेर आत्मसमीक्षा गर्नुप¥यो ।

यहाँले निकै गम्भीर कुरा उठाउनुभयो । कमरेड मदनको कसीमा को–को उत्रिए भन्ने कुरा भविष्यले निर्धारण गर्ला । यहाँले नै भनेजस्तो शुद्धिकरणको वैचारिक बहस पनि तत्काल चल्ने देखिँदैन । बरु, महाधिवेशनको मिति नतोकिँदै आफ्नो स्वार्थअनुकुल हुने गरी वैचारिक बहसहरू चल्न थाले नि ?
पहिलो कुरा त, अहिले वैचारिक बहस सुरु गर्ने समय भइसकेको छैन । पार्टीले महाधिवेशनको मिति तय गरेपछि वैचारिक बहस खुला हुन्छ । दोस्रो कुरा, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका बेला पटकपटकका छलफलपछि एउटा वैचारिक सहमति कायम गरेरै एकता भएको हो । राजनीतिक प्रतिवेदन आउन ढिला भएकाले यसमा खेल्ने काम भयो । अहिले प्रतिवेदन छापिँदैछ भन्ने कुरा पत्रपत्रिकाबाट सुनेको छु । तर, मलाई लाग्छ, यतिबेला वैचारिक बहस गर्ने बेला होइन । जे समझदारी गरेर पार्टी एकता गरियो, त्यो कार्यान्वयन नै यतिबेलाको सबैभन्दा महत्वपूर्ण कुरा हो । पहिले त सांगठनिक रूपमा एकता टुंग्याउनुप¥यो । एकतापछि केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय बन्यो । जसोतसो प्रदेश कमिटी बन्यो । बल्लबल्ल जिल्ला कमिटी बन्दैछन् । तीन नम्बर प्रदेशमै पनि दुईवटा जिल्लामा बन्न बाँकी छ । तलतलको महत्वपूर्ण सांगठनिक आधार नगरपालिका, गाउँकमिट, वडा अधिकांश ठाउँमा बन्न बाँकी छ । माथिल्लै कमिटीका पनि कार्यविभाजन हुन सकेको छैन । नेताहरू कामविहीन भएर बसेका छन् । यसले गर्दा पार्टी स्वभाविक रूपमा चलायमान बन्न सकेको छैन । छिटोभन्दा छिटो सिंगो सांगठनिक संरचनालाई एकताबद्ध बनाउन नेताहरूले समय दिनुभएन । यसले ठूलो घाटा भयो । लामो समयसम्म जिम्मेवारी नपाउँदा झन्डैझन्डै निराशाको अवस्था उत्पन्न भएको छ । विचार र संगठनलाई सँगसँगै जोडेर लैजान सक्दा मात्रै पार्टी बन्छ । संगठन नबनाउने अनि विचारको बहस मात्र खोज्ने हो भने पार्टी जीवन्त बन्न सक्दैन, चल्न सक्दैन ।

मलाई लाग्छ, यतिबेला वैचारिक बहस गर्ने बेला होइन । जे समझदारी गरेर पार्टी एकता गरियो, त्यो कार्यान्वयन नै यतिबेलाको सबैभन्दा महत्वपूर्ण कुरा हो । कमिटीका बैठक नै नबोलाउने, विधि, पद्धति, संस्थागत प्रणाली, सामूहिक नेतृत्वतिर ध्यान नदिने हो भने हामी कसैलाई फाइदा पुग्दैन ।

पछिल्लो समय दुईअध्यक्षबीचको छलफल पार्टी एकताको क्रममा भएको पाँचबुँदे सहमतिमा रहेका पावर सेयरिङमा केन्द्रित हुन थालेका खबर आइरहेका छन् । यस्ता कुराले आम कार्यकर्ताको तहमा कस्तो प्रभाव पार्छ ?
तपाईंले भनेको कुरा हामीले आधिकारिक रूमा सुन्न पाएका छैनौँ । हामीले पनि पत्रपत्रिकाबाटै थाहा पाउने हो । औपचारिक बैठक राख्ने गरेको भए पो आधिकारिक रूपमा थाहा पाउनु ? तपाईंले उठाएको कुरा, काम कुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेजस्तै हो । कुन समयमा कुन काम गर्ने भन्ने प्राथमिकता मिलेन । हाम्रो सबै ध्यान सत्ताकेन्द्रित भयो । यो ठीक होइन । पार्टी एकताका कतिपय जटिलता फुकाउन सजिलो होस् भनेर हामीले दुईअध्यक्षलाई कतिपय निर्णयको अधिकार दिएका हौँ । तर, जहिले पनि उहाँहरू दुईजना नेता बस्ने, छलफल गर्ने, के छलफल भयो भन्ने पनि थाहा नहुने, अनि हामी चैँ के आउला भनेर पर्खेर बस्ने, बैठकको उच्चारण नै नगर्ने, पत्रपत्रिका हेरेर हामीले थाहा पाउनुपर्ने अवस्था अत्यन्तै बेथितिपूर्ण छ । मलाई लाग्छ, दुई पार्टी अलगअलग हुँदा पनि कहिल्यै यस्तो भएको थिएन होला । तत्कालीन एमालेमा त कहिल्यै भएको थिएन । बरु, बैठकमा भनाभन हुन्थ्यो, आरोप–प्रत्यारोप हुन्थ्यो । तर, बैठक बस्थ्यो । त्यो बहस छलफलले पार्टीलाई अग्रगमनतिर लैजान्थ्यो । त्यसैले बैठकबाट भाग्नुपर्दैन । पार्टी एकताका क्रममा भएका सहमतिलाई पार्टीका कमिटीमा ल्याऔँ । त्यहाँ छलफल गरौँ । एउटा निष्कर्षमा पुग्यौँ । कमिटीका बैठक नै नबोलाउने, विधि, पद्धति, संस्थागत प्रणाली, सामूहिक नेतृत्वतिर ध्यान नदिने हो भने हामी कसैलाई फाइदा पुग्दैन । पार्टी, सरकार, देश र जनता सबैलाई घाटा हुन्छ । मूलनेतृत्वले यो कुरा बुझ्नुपर्छ । र, कमजोरी सच्याउनुपर्छ ।
प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्