काठमाडौं । मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो ।
उसका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन् । इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन् । यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि आश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन् । ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन् ।
३.५ ओभर बलिङ गरेकी आश्मिनाले १० रन खर्चिएर ५ विकेट लिएकी हुन्। यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चिइन् भने सीताले ४ ओभरमा १९ रन खर्चिइन् ।
कप्तान रूविना क्षेत्रीले ४ ओभरमा १२ रन खर्चदै किफायती बलिङ गरिन् भने संगीताले २ ओभरमा १० रन खर्चिँदा कविता कुँवरले २ ओभरमा १३ रन खर्चिइन् ।
यदि आज नेपालले युएईलाई हराए एसिया कप खेल्न पाउनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।











